उम्मेदवार छनोटका लागि एमालेले बनाएका मापदण्ड यस्ता छन्

काठमाडौं । नेकपा (एमाले)ले स्थानीय तहको निर्वाचनका लागि उम्मेदवार चयनको मापदण्ड बनाएको छ।सोमबार बसेको पोलिटब्युरो बैठकले स्थानीय तहको उम्मेदवार चयनको मापदण्ड बनाएको एमाले प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले बताए।

उनले भने, ‘स्थानीय तहका उम्मेदवारहरूको सिफारिस गर्दा वडाध्यक्षहरु, वडा सदस्यहरुको सिफारिस वडा कमिटीहरुले गर्ने र त्यसको निर्णय पालिका कमिटीहरुले गर्नेछ। गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षको सिफारिस गाउँपालिका कमिटीहरूको सुझावमा जिल्ला कमिटीले गर्छ। जिल्ला कमिटीको सिफारिसको आधारमा प्रदेश कमिटीले निर्णय गर्छ। नगरपालिकाको मेयर, उपमेयरको हकमा पनि त्यसको निर्णय प्रदेश कमिटीले गर्छ। बाँकी महानगरपालिकाको मेयर, उपमेयरको निर्णय प्रदेश कमिटीको सिफारिसमा केन्द्रिय कमिटीले गर्छ।’

बैठकले चैत ९ र १० गते हुने केन्द्रीय कमिटीमा एजेण्डा पनि निर्धारण गरेको गुरुङले बताए। बैठकले ११ एजेण्डा पास गरेको समेत उनको भनाइ छ।

केन्द्रीय कमिटीको बैठकमा, पार्टीको अवस्थाबारे रिपोर्टिङ, अध्यक्षको राजनीतिक प्रतिवेदन पेश, स्थानीय तहको निर्वाचनको तयारी र उम्मेदवार छनोटबारे छलफल हुने उनले बताए।

जनप्रतिनिधिको हकमा हालको कार्यकालको मुल्यांकन, कार्यक्षमता, लोकप्रियता र पार्टीको आन्दोलनमा खेलेको भूमिका हेरिने उनले बताए। स्थानीय तहको घोषणापत्रको मस्यौदा तयार भइसकेको बताउँदै उनले पार्टी स्थापना दिवसको अवसर पारेर वैशाख ९ गते सार्वजनिक गरिने उनले बताए।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार