एमालेको पोलिटब्युरो बैठकमा उठ्यो वाम एकताको विषय

काठमाडौं । नेकपा (एमाले) को पोलिटब्युरो बैठकमा केही नेताले वाम एकताको प्रस्ताव राखेका छन् । सोमबार काठमाडौंमा बसेको पोलिटब्युरो बैठकमा नेताहरू घनश्याम भुसाल र रघुजी पन्तले वामपन्थी एकता गरेर जानुपर्ने प्रस्ताव गरेको हुन् । नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीलगायत दलसँग वामपन्थी एकता गर्नुपर्ने विषय उठेपछि केही नेताहरूले भने यसमा अल्झन नहुने बताएका छन् ।
बैठकमा सहभागी एक नेताका अनुसार भुसाल र पन्तले वाम एकताका लागि अध्यक्ष केपी ओलीले पहलकदमी लिनुपर्ने बताएका छन् । ती नेताले भने ‘वामपन्थी एकताको विषय घनश्याम र रघुजीले उठान गर्नुभएको छ। वामपन्थी दलहरूबीच एकता गर्दै जानुपर्ने र त्यसमा अध्यक्ष केपी शर्मा ओलीले पहलकदमी लिनुपर्छ भनेर उहाँहरुले प्रस्ताव गर्नु भएको छ । अन्य नेताले भने यस्ता कुरामा अल्झीन नहुने बताउनु भएको छ ।’

०७४ को चुनावअघि एमाले र माओवादीबीच वामगठबन्धन हुँदै पछि नेकपा पार्टी बनेको थियो। तर पार्टीभित्र बिबाद बढ्दै गएका बेला सर्वोच्चको आदेशपछि एमाले र माओवादी पुन अस्तित्वमा आएका थिए। यसबिच नेकपा एमाले विभाजन समेत भयो । एमाले विभाजन गरी माधव कुमार नेपालले नयाँ पार्टी समेत खोलेका छन् । यस्तो बेला फेरि पनि बाम एकताको बहस चर्चामा आएको हो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार