रुस-युक्रेन युद्धबारेको आफ्नो अडान सही भएको समयले प्रमाणित गर्ने छ : चिनियाँ विदेशमन्त्री

काठमाडौं । युक्रेन संकटमा आफूहरुले लिएको अडान वा स्थान सही रहेको समयले प्रमाणित गर्ने दाबी चिनियाँ विदेशमन्त्रीले गरेका छन्।शनिबार भएको पत्रकार सम्मेलनमा विदेशमन्त्री वाङ्ग यीले ‘चीन जहिले पनि शान्ति कायम गर्ने र युद्धको विपक्षमा उभिने गरेको’ बताउँदै अहिले युक्रेनका सम्बन्धमा लिएको स्थान पनि ‘वस्तुपरक र निष्पक्ष तथा अधिकांश देशको अपेक्षाअनुरुप’ रहेको दाबी गरेको समाचार संस्था रोयटर्सले जनाएको छ।

चिनियाँ विदेश मन्त्रालयले जारी गरेको वक्तव्यअनुसार विदेशमन्त्री वाङ्गले दाबी गरेका छन्, ‘चीनले गरेका दाबी इतिहासको सही पक्षमा रहेको प्रमाणित समयले गर्नेछ।’

चीनले युक्रेन युद्धलाई लिएर ‘विवादास्पद’ अडान लिँदै आएको छ। उसले आफूलाई तटस्थ लाग्ने प्रयास गर्दै युक्रेनको सार्वभौमसत्ताको सम्मान गर्ने बताएको छ भने रुसको ‘सुरक्षा चासो’ पनि सम्बोधन हुनुपर्ने उल्लेख गरेको छ। वार्ताका लागि आफू मध्यस्थता गर्न तयार रहेको पनि चीनले बताएको छ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार