प्रचण्डको कार्यक्रमले गण्डकी प्रदेशसभा स्थगित

आइतबार बस्ने भनिएको गण्डकी प्रदेशसभा स्थगित भएको छ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड कार्यकर्ता प्रशिक्षणका लागि पोखरा जाने भएपछि प्रदेशसभा स्थगित भएको हो ।

प्रचण्ड आइतबार पोखरा जान लागेका हुन् । उनी जाने कार्यक्रमले सांसदहरू व्यस्त हुने भन्दै आइतबार १ बजेको संसद् बैठक भोलिपल्टलाई सारिएको हो ।

कार्यव्यवस्था परामर्श समितिको बैठक बसेर संसद् बैठक स्थगित गर्ने निर्णय गरेको हो । ‘प्रचण्डको कार्यक्रम पोखरामा रहेछ । उहाँहरूसहित उच्च नेताहरू आउने भएपछि यहाँका सांसदहरू त्यतै व्यस्त हुनुहुन्छ,’ कानुन मन्त्री विन्दुकुमार थापाले भने, ‘सहमतिमै १ दिनका लागि बैठक स्थगित गर्ने निर्णय भयो ।’

सोमबारको बैठकमा विशेष र शून्य समयको कार्यसूची राखिएको छ भने बालबालिकाको अधिकार सम्बन्धी विधेयक छलफल गरेर पास हुनेछ । यसबाहेक २ वटा विधेयक संसद्मा टेबुल हुने थापाले बताए । माओवादीले सभागृहमा प्रदेशस्तरीय राजनीतिक वैचारिक प्रशिक्षण आयोजना गरेको छ ।

सोही कार्यक्रमलाई सम्बोधन गर्न प्रचण्ड सहित वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ, देव गुरुङ, देवेन्द्र पौडेल, दिनानाथ शर्मा लगायत नेताहरू आउने माओवादी गण्डकी प्रदेशकी अध्यक्ष गायत्री गुरुङले बताइन् । उनी माओवादीबाट गण्डकी प्रदेशसभामा प्रमुख सचेतक समेत हुन् । गण्डकीमा कांग्रेसको नेतृत्वमा माओवादी सहित दलहरू सरकारमा छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार