भानुभक्त ढकाल भन्छन्- प्रचण्डलाई एमालेमा ढोका खुला छ, समाजवादीलाई बन्द

नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा पूर्वमन्त्री भानुभक्त ढकालले कांग्रेसले हेला गरेर एमालेमा आए पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई ढोका खुला रहेको बताएका छन् ।

प्रेस चौतारी नेपाल चितवन शाखाले शनिबार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता ढकालले भने, ‘बिहे गरेर दिएको चेलीलाई अफ्ठयारो पर्दा तीजमा माइतमा बिलौना गाएको जस्तै उहाँलाई कांग्रेसले धेरै हेप्यो भने हाम्रै आन्दोलनमा आएर बिलौना गर्नुभयो भने पनि सहगोत्री नै हो ।’

परिस्थितिलाई आफ्नो अनुकूल बनाउन प्रचण्डले दलहरुसँग पालैपालो एकता र गठबन्धन गर्ने गरेको कुरा जगजाहेर रहेको भन्दै उनले समाजवादी अवैध पार्टी भएकाले सहकार्य नै नहुने बताए ।

प्रचण्ड नेतृत्वको नेकपा (माओवादी केन्द्र) बैध पार्टी नै भएकाले स्थानीय चुनावमा एकताका लागि गठबन्धनमा अफ्ठयारो पर्दा प्रचण्डलाई एमालेमा ढोका खुला रहेको उनकाे भनाई छ । तर, माधव नेपाल नेतृत्वको नेकपा (एकिकृत समाजवादी) भने अवैध पार्टी भएकाले ढोका बन्द रहेको उनले बताए ।

एकिकृत समाजवादीलाई एमालेले पार्टीको मान्यता नदिएको भन्दै उनले भने, ‘हामीहरु उहाँहरुको उमेदवार स्वीकार्दैनौँ र उहाँहरुसँग सहकार्य पनि हुँदैन । हामी एक्लै जित्छौँ भन्नेमा दृढ छौँ ।’

नेपालको दीर्घकालीन राजनीतिमा एमाले र कांग्रेसको दुई कित्ता मात्रै रहने उनले पनि दाबी गरे ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार