अदालतले बनाएको गठबन्धनलाई जनताको आँगनमा लगेर पछार्नुपर्छ : ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आउँदो निर्वाचनमा आफ्नो पार्टी पहिलो दल बन्ने दाबी गरेका छन्। राजधानीको दरबार बङ्क्वेटमा आयोजित पार्टीको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले गठबन्धनलाई जनताको आँगनमा लगेर पछार्नुपर्ने बताए ।

‘यो अदालतले बनाएको गठबन्धन हो। यसलाई जनताको आँगनमा लगेर पछार्नुपर्छ,’ ओलले भने, ‘उनीहरुलाई यस्तो तयारी गरौं कि एमालेको तयारी देखेर अहिलेबाटै निद्रा लाग्न छाडोस्। अहिलेदेखि खान रुच्न छाडोस्।’ कांग्रेसलाई अबको निर्वाचनमा १३ सिटमा झार्नेगरी एमालेले तयारी गर्नुपर्ने धारणासमेत ओलीले राखे।

गठबन्धन भन्ने मनोवैज्ञानिक त्रास मात्र भएको उल्लेख गर्दै ओलीले भने, ‘स्यालहरुको मोर्चा कसेर हात्तीको सिकार गर्न सकिँदैन।’

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई ओलीले एमालेले भरिदिएको भाँडो रित्तिसकेको उल्लेख गर्दै माओवादी अब सकिसक्केको दाबी गरे। ‘हामीले भरिदिएको भाँडो त सिद्धिसक्यो त प्रचण्डजी। खुरुखुरु एमालेमा प्रवेश गरेको लश्कर देख्नुभएको छ कि छैनरु हामी खुर्कीखर्की गरेर पनि निकाल्छौ,’ ओलीले भने।

एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले एमालेले टाँसिदिएको जुँगामा ताउ लगाउन थालेको उल्लेख गर्दे उक्त पार्टी ध्वस्त हुने दाबीसमेत गरे। ‘गठबन्धनमा भएको एउटा पार्टी छ। त्यो बन्दैबन्दैन। त्यो ध्वस्त हुन्छ। हामीले टाँसिदिएको जुँगामा ताउ लाउँछ,’ ओलीले भने।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार