पेट्रोल ट्यांकरमा आगालागी हुँदा सह–चालकको मृत्यु

बाराको जितपुर सिमरा उपमहानगरपालिका २१ अमलेखगन्जस्थित आयल निगमभित्र एक ट्यांकरमा आगलागी हुँदा एक जनाको मृत्यु भएको छ ।

पेट्रोल अनलोड गर्न पार्किङमा राखेको ना४ख २६५६ नम्बरको ट्यांकरमा आगलागी हुँदा सह–चालक ३० वर्षीय लक्ष्मण श्रेष्ठको मृत्यु भएको हो । ब्याट्रीको तार सर्ट भएर आगो लाग्दा गम्भीर घाइते भएका उपचारको क्रममा मृत्यु भएको हो ।

आगलागीमा परेर घाइते भएका श्रेष्ठको काठमाडौंस्थित कीर्तिपुर अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायब उपरीक्षक राजेश थापाले जानकारी दिए । श्रेष्ठलाई अल्पाइन अस्पतालले कीर्तिपुर रिफर गरेको थियो ।

भारत गोरखपुर घर भएका आयल निगमका इलेक्ट्रीसियन २५ वर्षीय रामलखन प्रजापति भने आगलागीबाट सामान्य घाइते भएका छन् । उनको अल्पाइन अस्पतालमा उपचार भइराखेको छ ।

आगलागीबाट पेट्रोल ट्यांकरको अगाडिको भागमा क्षति भएको छ । घटनाको विषयमा अनुसन्धान भइरहेको थापाले जानकारी दिए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार