आज पनि चलेन नेपालको ब्याटिङ, युएईसँग ४८ रनले पराजित

काठमाडौं । नेपाल आईसीसी विश्वकप लिग टु अन्तर आफ्नो दोस्रो खेलमा यूएईसँग पराजित भएको छ । सामान्य लक्ष्य पछ्याएको नेपाल यूएईको घरेलु मैदानमा ४८ रनले पराजित भएको हो । आज पनि नेपालको हारको कारण खराब ब्याटिङ नै रह्यो ।

खेलमा नेपाल निर्धारित ५० ओभर सम्म टिक्न समेत सकेन । १ सय ६९ रनको सामान्य लक्ष्य पछ्याएको नेपाल मात्र १ सय २० रन ३५ बनाउँदा ओभर १ बलमा अल आउट भयो ।

नेपालका रोहित कुमार पौडेलले ४६ रनको इनिङ खेले । ६० बलमा ४ चौका प्रहार गरेका रोहित अर्धशतकबाट ४ रनले चुके । रोहित अर्धशतकबाट मात्र चुकेनन्, उनी नेपालको लागि एकदिवसीयमा सर्वाधिक अर्धशतक बनाउने खेलाडीको कीर्तिमानबाट समेत चुके ।

खराब सुरुवात गरेको नेपाललाई रोहित र ज्ञानेन्द्र मल्लको साझेदारीले उकास्ने प्रयास गरेको थियो । ज्ञानेन्द्र मल्ल २८ रनमा आउट हुँदा ओपनर कुशल भुर्तेलले ११ रन बनाउँदा अन्य खेलाडीले दोहोरो अंक छुन सकेनन् ।

करन केसी ६, आसिफ शेख ७, दिपेन्द्र सिंह ऐरी ४, सोमपाल ६, सन्दीप लामिछाने ७ रन बनाउँदा आरिफ शेख र कमल सिंह ऐरी शुन्यमा आउट भए ।यूएईको जितमा बसिल हमिदले ४ तथा जुनाइद सिद्दिकीले ३ विकेट लिए ।त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको यूएईले ४६ ओभर ३ बलमा १ सय ६८ रन बनाउँदा अलआउट भयो ।

सोमपाल कामीको उत्कृष्ट बलिङमा यूएई दबाबमा परेको थियो । सुरुवाती तीन विकेट सोमपालले सस्तैमा लिएपछी यूएई खेलमा पछी परेको थियो ।यूएईका रिजवान सीपी र रोहन मुस्थाफाले सर्वाधिक ४०/४० रन बनाए । ओपनर मुहमद वसिमले २१ रन जोड्दा कासिफ दाउदले १८, बसिल हमिदले १४ तथा अहमेद राजाले १३ रन बनाए ।

जितसँगै यूएई लिग तालिकामा १६ खेलमा ९ जित निकाल्दै दोस्रो स्थानमा यथावत रहेको छ । नेपाल १० खेलमा ५ जित निकाल्दै तालिकाको छैठौं स्थानमा छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार