पल शाललाई थप ५ दिन हिरासतमा राख्न अदालतको अनुमति

नाबालिगमाथि बलात्कारको अभियोग लागेका अभिनेता पल शाहलाई थप ५ दिन हिरासतमा राख्न जिल्ला अदालत तनहुँले अनुमति दिएको छ । फागुन १५ गते पक्राउ परेका शाहमाथि यसअघि नै दुई पटक म्याद थप भइसकेको छ । पछिल्लो पटक थप गरिएको म्याद शुक्रबार सकिँदै थियो । तनहुँ जिल्ला अदालतले दोस्रोपटक फागुन २२ गते १२ दिनको समय दिएर शाहमाथि अनुसन्धानको समय दिएको थियो ।

शाहले नाबालिगलाई बलात्कार गरेको भन्ने पुष्टि गर्न विभिन्न प्रमाण प्रहरीले जुटाएर पेस गरेको छ। जाहेरी दरखास्त, घटनास्थल मुचुल्का, पीडितको कागज, होटल सञ्चालिका सुलोचना कुँवरको कागज, होटलको इन्ट्री बूक, अर्जुनप्रसाद तिवारीको कागज, पीडित भनिएकी बालिकाको शारीरिक परीक्षण प्रतिवेदन, दुर्गाबहादुर थापा (दुर्गेश)को कागज, अडियो रेकर्डलगायतलाई प्रमाण मान्दै अदालमा मुद्दा दर्ता गरिएको छ।

शाहविरुद्धको मुख्य प्रमाणको रुपमा उनकै अडियोलाई लिइएको छ। २ मिनेट ३५ सकेन्ड लामो अडियो प्रमाणका रुपमा पेस गरिएको छ। अडियोमा भनिएको छ, ‘‘यसमा चाहिँ के छ भनेसी यति ठूलो डिसिजन लिनुपर्छ भन्ने नै छैन। किनभने उ प्रेगनेन्ट भाको भए‘मैले गर्दा प्रेग्नेन्ट भएको भए‘ समस्या भएको भए वा बच्चा भएको भए कुरा गर्न मिल्थ्यो‘ बिहे गर्ने, स्वीकार्ने कि नस्वीकार्ने अब गर्लफ्रेण्ड ब्वाईफ्रेण्डमा अन्डरस्ट्याण्डिङमा भयो होला। हामीसँगै हुँदा केही भयो होला, तर यति कुरामा एकदम राम्रो सेफ तरिकाले यति अन्डरस्ट्याण्डिङ हिसाबमा हुँदा पनि लास्टमा स्वीकार्नै पर्छ ? विवाह गर्नै पर्छ ?’

जिल्ला सरकारी वकिल कार्यालय, नवलपरासी बर्दघाट सुस्ता पूर्वका सहायक जिल्ला न्यायाधिवक्ता डाल बहादुर नेपालीका अनुसार थप समय राखेर अनुसन्धान गर्दा तनहुँमा दर्ता भएको पलविरुद्धको मुद्दा प्रभावित हुने भएकाले तत्कालका लागि आवश्यक अनुसन्धान सकेर तनहुँ पठाइएको छ । यद्यपि तनहुँको पनि अनुसन्धान सकिएर थुनछेक बहस भइसकेपछि पललाई अदालतसमक्ष बयानका लागि उपस्थित गराइने छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार