पलविरुद्ध प्रमाण बलियो बन्दै, १४ बर्ष जेल सजायको माग

५ दिन म्याद थप्ने तयारी

काठमाडौं । नाबालिका गायिका बलात्कारको आरोपमा पक्राउ पक्राउ परेका अभिनेता पूर्ण विक्रम शाह (पल शाह) विरुद्ध आज तेस्रोपटक म्याद थपको तयारी गरिएको छ । पलविरुद्ध जिल्ला अदालत तनहुँबाट यसअघि पहिलोपटक सात दिन र दोस्रोपटक १२ दिनको म्याद लिइएको थियो ।

१२ दिने म्याद आज सकिँदै छ । पलविरुद्ध जिल्ला प्रहरी कार्यालय तनहुँ र इलाका प्रहरी कार्यालय गैँडाकोटमा एक १७ वर्षीया गायिकाले आफूमाथि बलात्कार भएको भन्दै जाहेरी दिएकी थिइन् ।

अनुसन्धान नसकिएकाले म्याद थपका लागि अदालतमा उपस्थित गराउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

शाहले नाबालिगलाई बलात्कार गरेको भन्ने पुष्टि गर्न विभिन्न प्रमाण प्रहरीले जुटाएर पेस गरेको छ। जाहेरी दरखास्त, घटनास्थल मुचुल्का, पीडितको कागज, होटल सञ्चालिका सुलोचना कुँवरको कागज, होटलको इन्ट्री बूक, अर्जुनप्रसाद तिवारीको कागज, पीडित भनिएकी बालिकाको शारीरिक परीक्षण प्रतिवेदन, दुर्गाबहादुर थापा (दुर्गेश)को कागज, अडियो रेकर्डलगायतलाई प्रमाण मान्दै अदालमा मुद्दा दर्ता गरिएको छ।

शाहविरुद्धको मुख्य प्रमाणको रुपमा उनकै अडियोलाई लिइएको छ। २ मिनेट ३५ सकेन्ड लामो अडियो प्रमाणका रुपमा पेस गरिएको छ। अडियोमा भनिएको छ, ‘…यसमा चाहिँ के छ भनेसी यति ठूलो डिसिजन लिनुपर्छ भन्ने नै छैन। किनभने उ प्रेगनेन्ट भाको भए…मैले गर्दा प्रेग्नेन्ट भएको भए… समस्या भएको भए वा बच्चा भएको भए कुरा गर्न मिल्थ्यो… बिहे गर्ने, स्वीकार्ने कि नस्वीकार्ने अब गर्लफ्रेण्ड ब्वाईफ्रेण्डमा अन्डरस्ट्याण्डिङमा भयो होला। हामीसँगै हुँदा केही भयो होला, तर यति कुरामा एकदम राम्रो सेफ तरिकाले यति अन्डरस्ट्याण्डिङ हिसाबमा हुँदा पनि लास्टमा स्वीकार्नै पर्छ ? विवाह गर्नै पर्छ ?’

जिल्ला सरकारी वकिल कार्यालय, नवलपरासी बर्दघाट सुस्ता पूर्वका सहायक जिल्ला न्यायाधिवक्ता डाल बहादुर नेपालीका अनुसार थप समय राखेर अनुसन्धान गर्दा तनहुँमा दर्ता भएको पलविरुद्धको मुद्दा प्रभावित हुने भएकाले तत्कालका लागि आवश्यक अनुसन्धान सकेर तनहुँ पठाइएको छ । यद्यपि तनहुँको पनि अनुसन्धान सकिएर थुनछेक बहस भइसकेपछि पललाई अदालतसमक्ष बयानका लागि उपस्थित गराइने छ ।

जिल्ला सरकारी वकिल कार्यालय, नवलपरासी बर्दघाट सुस्ता पूर्वका सहायक जिल्ला न्यायाधिवक्ता डाल बहादुर नेपालीका अनुसार जिल्ला अदालतमा दर्ता भएको अभियोग पत्रमा प्रतिवादीले अपराध गरेको पुष्टि हुने यथेष्ट प्रमाणहरु पेश गरिएका छन् । नेपालीका अनुसार पीडित बालिका र प्रतिवादी घटना भएको समयमा एउटै होटलमा बसेको पुष्टी भएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार