हुम्लाकाे लिमीमा चुनावअघि नै जनप्रतिनिधि चुनिए

वैशाखमा हुने निर्वाचनमा गाउँपालिका अध्यक्ष र उपाध्यक्षलाई मात्रै मतदान गर्ने

हुम्लाको नाम्खा गाउँपालिका–६ लिमीमा स्थानीय तहको चुनावअघि नै स्थानीयले जनप्रतिनिधि चुनेका छन् । उनीहरुले वडाध्यक्ष र सदस्य चुनेका हुन् । हल्जी, जाङ, तिल गाउँका स्थानीयले ३० मंसिरमै बैठक बसेर नयाँ जनप्रतिनिधि छनोट गरेका हुन् । अब आउँदो वैशाख ३० गते हुने चुनावमा उनीहरुले गाउँपालिका अध्यक्ष र उपाध्यक्षका लागि मात्रै मतदान गर्ने भएका छन् ।

यी तीन गाउँमा स्थानीय नीति–नियम लागू हुँदै आएको छ । त्यसकै आधारमा वडा नम्बर ६ मा निर्वाचन सम्पन्न भएको हो ।

‘लिमीका स्थानीय बासिन्दाको आफ्नै नीति–नियम छ । यो कुनै नौलो कुरा भएन यसअघि पनि यस्तो भएको थियो’ नाम्खा गाउँपालिकाका उपाध्यक्ष पेमा तामाङले भने । उनका अनुसार आफ्नो गाउँठाउँका लागि स्थानीय बासिन्दा आफैँले जनप्रतिनिधि चयन गर्ने गरेका छन् ।

‘यो पहिलेदेखि नै चलिआएको रीति रिवाज हो’ उनले भने । लिमीका स्थानीय बासिन्दा महत्त्वपूर्ण निर्णय लिन कात्तिक अन्तिम हप्ता र मंसिरको पहिलो हप्ता बैठक बस्छन् । त्यही अनुसार गएको मंसिर ३० गते बसेको बैठकले वडाध्यक्ष र सदस्यहरू चयन गरेको हो ।

वडा अध्यक्षमा उनीहरुले पाल्जोर तामाङलाई नै दोहोर्याएका छन् । सदस्यहरू भने सबै नयाँ चयन भएका छन् । हल्जी गाउँबाट छिरिङ टुङडुप तामाङ, जाङ गाउँबाट महिला सदस्यमा पुटी तामाङ र तिल गाउँबाट टुङडुप लामा चयन भएका छन् । यसअघि वडाध्यक्षमा पाल्जोर तामाङ, महिला सदस्यमा याङकी तामाङ, कर्की लामा र कोलोप्जाङ तामाङ निर्वाचित भएका थिए । वडा अध्यक्षमा दोहोरिएका पाल्जोर तामाङ गाउँमा खाद्यान्न अभाव भएपछि सिंहदरबार गुहार्दै गएको मंसिरमा काठमाडौँ आएका थिए ।

पाँच दिनको पैदल यात्रा अनि एक दिनको हवाई यात्रापछि वडाध्यक्ष तामाङ मंसिर ७ गते काठमाण्डौ आइपुगेका थिए । उनकै पहलमा गाउँमा चामल पुगेको थियो । आलु र उवा मात्रै उत्पादन हुने लिमी क्षेत्रमा खाद्यान्न अभाव हुने गरेको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार