निजामती कर्मचारीका सन्तानलाई पाँच लाखसम्म छात्रवृत्ति

सरकारले निजामती कर्मचारीका सन्तानलाई पाँच लाख रूपैयाँसम्म छात्रवृत्ति दिने भएको छ । यसअघि प्राविधिक विषयमा मात्र यस्तो छात्रवृत्ति दिने गरिएकामा हालै जारी निर्देशिकाले जुनसुकै विषयमा यो सुविधा दिने व्यवस्था गरेको हो ।

स्नातक तह पढ्न एक पटकका लागि बढीमा पाँच लाखसम्म प्रोत्साहन छात्रवृत्ति पाइनेछ ।

‘निजामती कर्मचारीका सन्ततिलाई शैक्षिक प्रोत्साहन वृत्ति उपलब्ध गराउनेसम्बन्धी निर्देशिका २०७८’ मा पाँच लाखसम्म दिन सकिने व्यवस्था गरिएको छ ।

निम्न आय भएका र अरक्षणका कर्मचारीका छोराछोरीले छात्रवृत्ति पाऊन् भन्ने उद्देश्यले निर्देशिका परिवर्तन गरिएको सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय सहसचिव नारायण अर्यालले बताए । उनका अनुसार कोटा निर्धारण गरेर छात्रवृत्ति वितरण गरिनेछ  ।

सहसचिव अर्यालका अनुसार २० लाख रूपैयाँभन्दा बढी शिक्षण शुल्क लाग्ने भए पाँच लाख रूपैयाँ छात्रवृत्ति पाइनेछ । १५ लाखदेखि बढी २० लाखसम्म शुल्क लाग्ने भए चार लाख, दश लाखदेखि १५ लाख शिक्षण शुल्क लाग्ने भए तीन लाख छात्रवृत्ति पाइनेछ ।

यसैगरि एक लाख रूपैयाँभन्दा कम शिक्षण शुल्क लाग्ने भए लागेको शुल्क बमोजिमको रकम छात्रवृत्ति दिने निर्देशिकामा उल्लेख छ । विदेशमा अध्ययन गरेको र तीनै तहका सरकारबाट छात्रवृत्ति प्राप्त गरेकोले भने छात्रवृत्ति पाउने छैनन् ।

शैक्षिक प्रोत्साहन वृत्तिका लागि प्रचलित निजामती सेवासम्बन्धी सङ्घीय कानुनमा निर्णय भएबमोजिम समावेशी सिटमा छुट्याएको प्रतिशतलाई शतप्रतिशत मानी सोहीअनुसार कोटा निर्धारण गरिने निर्देशिकामा उल्लेख छ । व्यक्ति छनोट गर्ने क्रममा दिइने नम्बर समान प्राप्त गरेको अवस्थामा तल्लो तहका कर्मचारीका छोराछोरीले छात्रवृत्ति पाउने व्यवस्था निर्देशिकाले गरेको छ ।

यस्तो छ निर्देशिका:

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार