कांग्रेसलाई सत्ताबाट सडकमा पुर्‍याउने वर्षमान पुनको चेतावनी

नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले नेपाली कांग्रेसका नेताहरुलाई चेतावनी दिएका छन् । माओवादी लुम्बिनी प्रदेश स्तरीय प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै पुनले कांग्रेस नेताहरुमा उन्माद देखिएको भन्दै फेरि सत्ताबाट सडकमा पुर्‍याउन सक्ने बताएका हुन् ।

पुनले पाँच वर्षका लागि सडकमा पछारिएको नेपाली कांग्रेसलाई आफूहरुले बुई चढाएर सत्तामा पुर्‍याएकोसमेत टिप्पणी गरेका छन् ।कांग्रेसका केही नेताले माओवादी केन्द्र र सत्ता गठबन्धनमा सहभागी दललाई हेप्ने, अपमान गर्ने र सार्वजनिक टिप्पणी गर्ने गरेको बताएका छन् ।

नेता पुनले भने, ‘हामी सरकार बनाउन सक्छौं, भत्काउन सक्छौं । सडककालाई सत्तामा र सत्ताका लागि सडकमा पुर्‍याउने ताकत हामीसँग छ । कांग्रेस नेताहरुले बुझ्न जरुरी छ ।’

केपी ओलीमा सत्ता उन्माद चढेपछि उनले भोगेको हविगतबाट पाठ सिक्न र आफ्नो वास्तविक शक्ति सम्झिएर के बोल्ने÷के नबोल्नेबारे विचार गर्न आग्रह गरे ।

उनले चुनावी गठबन्धनविरुद्ध रहेका कांग्रेस नेतालाई ०७४ को निर्वाचन परिणाम स्मरण गर्न सुझाव दिएका छन् ।

पुनले केपी ओलीमा सत्ता उन्माद चढेपछि उनले भोगेको हविगतबाट पाठ सिक्न कांग्रेस नेतालाई सुझाए। ‘सत्ता उन्मादले केपी ओली प्रतिगमनको नाइके हुनुभयो। पटकपटक संसद विघटन गर्नुभयो’, उनले भने, ‘आफ्नो कर्मका कारण दुई तिहाई विशाल जनमतसहितको शक्तिशाली प्रधानमन्त्री आज सडकमा पुग्नुभएको छ, ६ महिनादेखि बिना एजेण्डा संसदमा नारा लगाइरहनुभएको छ।’

तर, आफ्ना हार्डकोर कार्यकर्ताबाहेक कसैले पनि ओलीप्रति सहानुभूति नदर्शाएको अवस्था कांग्रेस नेताले बुझ्नुपर्ने पुनले सम्झाए।

उनले माओवादी केन्द्र कसैसँग तालमेल नगरी आफ्नै बलमा निर्वाचन लड्न र जित्न सक्षम रहेको दाबी गरेका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार