एनआइसीले ल्यायो सर्वश्रेष्ठ (स्थानीय) बचत र मुद्दती निक्षेप खाता योजना

एनआइसी एसिया बैंकले धेरै फाइदाहरु भएको एवम् बीमा योजना समेत समेटिएको निक्षेप योजना सार्वजनिक गरेको छ । बैंकले हालै सार्वजनिक गरेको नयाँ बचत खाताामा अन्य प्रकारका बचत खाता भन्दा १० गुणा बढी फाइदाहरू रहेको छ भने ८४ लाखसम्मको बीमा योजना समेत समेटिएका छन् ।

यो खातामा नेपाली बैंकिङ्ग क्षेत्रकै पहिलो पटक २४ विशेष फाइदाहरू समेटी सञ्चालनमा ल्याइएको नविन वचत खाता भएको बैंकले दाबी गरेको छ । बैंकले एनआइसी एसिया गुडविल एम्बासडर, द प्राइड अफ एनआइसी एसिया र द पार्टनर अफ एनआइसी एसिया गरी तीन प्रकृतिको बचत खाता

सञ्चालनमा ल्याएको हो । गुडवील एम्बासडरमा न्युनतम मौज्दात १० हजार रुपियाँ तोकिएको छ भने द प्राइड अफ एनआइसी एसियामा ५ हजार रुपियाँ र द पार्टनर अफ एनआइसी एसियामा २ हजार ५ सय रुपियाँ न्यूनतम नगद मौज्दात तोकिएको छ । बैंकले यो खातामा ८.०३ प्रतिशत व्याज प्रदान गर्नेछ । स्थानीय स्तरका जनताहरूको आर्थिक एवं सामाजिक उन्नती एवम् सर्वोत्तम हितलाई ध्यानमा राखि विविध फाइदाहरू बैंकले प्रदान गर्नेछ ।

यो बचत खातामा योजना अनुसार २१ लाखदेखि ८४ लाखसम्म बिमा सुविधा संलग्न रहेको छ । बैंकले ल्याएको गुडवील एम्बासडर बचत खाता योजनामा ४० लाख रुपियाँको दुर्घटना बिमा, ४० लाख रुपियाँसम्मको घातक रोग बीमा, ४ लाख रुपियाँसम्म औषधी उपचार बीमागरी अधिकतम ८४ लाख रुपियाँसम्मको बिमा सुविधा रहेको बैंकले जनाएको छ ।

त्यस्तै अन्य सुविधामा ‘वेल्थ म्याक्सिमाइजेसन’ अन्तर्गत ५ वर्षको लागि डिम्याट खाता निःशुल्क, मेरो शेयर शुल्क निःशुल्क उपलब्ध गराइनुका साथै ५ वर्ष सम्मको लागि पोर्टफोलियो व्यवस्थापन सेवा शुल्कमा ५० प्रतिशत छुटको व्यवस्था गरिएको छ ।

बैंकले यो खातावालालाई कर्जा दिँदा कर्जा प्रशासनिक शुल्क ०.२५ प्रतिशत मात्रै लगाउने छ भने बेस रेटमा १ प्रतिशतमात्रै प्रिमियम दर तोकेर कर्जा दिनेछ । बैंकले दिने डेबिट कार्ड, मोबाइल बैकिङ, इन्टरनेट बैंकिङ ५ वर्षको सम्मको लागि निःशुल्क उपलब्ध गराइनेछ भने क्रेडिट कार्डमो सिमा ५ लाखसम्म निःशुल्क र क्रेडिट कार्ड आबद्ध र जारी शुल्क निःशुल्क गराइने बैंकले जनाएको छ । क्रेडिट कार्डको वार्षिक शुल्क, प्रिपेड डलर कार्ड, निःशुल्क चेक प्रोसेसिङ आरटीजीएस, आइपीएस शुल्क ५ वर्षको लागि निःशुल्क गरिएको छ । त्यसैगरी लकर शुल्क निःशुल्क गर्नुका साथै लकर मार्जिनमा शतप्रतिशत छुटको व्यवस्था गरिएको छ । यस्तै मुद्रा सतहीमा २५ पैसा थप गरिनेछ भने कुनै पनि स्वदेशी बैंकबाट नगद निकालेमा ५ वर्षसम्म अन्य कुनै शुल्क लाग्ने छैन ।

यसैगरी एनआइसी एसिया बैंकले एनआइसी एसिया गुड एम्बासडर, द प्राइड अफ एनआइसी एसिया र द पार्टनर अफ एनआईसी एसिया गरी तीन प्रकारको मुद्दती खाता समेत सञ्चालनमा ल्याएको छ । गुडवील एम्बासडरमा १० लाख रुपियाँ न्युनतम मौज्दान, प्राइड अफ एनआइसी एसियामा ५ लाख र द पार्टनर अफ एनआइसी एसियामा २ लाख ५० हजार न्यूनतम नगद मौज्दात तोकिएको छ । मुद्दती निक्षेप खोल्दा न्यूनतम ३ महिनादेखि अधिकतम १० वर्षसम्मको अवधिको खोल्न सकिने बैंकले जनाएको छ । हाल बैंकले मुद्दती निक्षेपमा ११.०३ प्रतिशत व्याज दिनेछ । यस प्रकारको खाता खोल्दा बैंकमा कुनै पनि प्रकारको शुल्क नलाग्ने फाइदाको अलावा पूरा ५ वर्ष सेवा तथा सुविधामा निशुल्क बैंकले जनाएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार