स्टीलका घर : भूकम्पपछि बनिरहेका नयाँ धराप

सँघारमै विपत्ति, स्थानीय सरकार बेपरवाह

कंक्रिटका आरसीसी भवनभन्दा बलियो हुने र छिटोछरितो पनि बन्ने भन्दै २०७२ को भूकम्पपछि आवासीय भवनदेखि धेरैतिर स्टीलका भवन बनाउन थालियो । मापदण्ड पालना नगरी जथाभावी निर्माण भइरहेका ती भवन नयाँ धराप बनिरहेका छन्, कसरी ?

२०७२ सालको भूकम्पले निम्त्याएको विनाश आम नेपालीको मानसपटलमा ताजै छ । धेरैले त्यो त्रासद भुल्न सकेका छैनन् । तर, भूकम्पपछि काठमाडौं उपत्यकामा, खासगरी चक्रपथभन्दा बाहिर विस्तार भएका नयाँ बस्तीले अर्कै कुरा भन्छन् ।

उपत्यकाभित्रका नयाँबस्तीहरूमा पहिले कंक्रिटका पक्की भवन बन्थे । अहिले स्टीलका भवन बनिरहेछन् । त्यस्ता कतिपय घरमा मान्छे बस्छन् । अरू धेरै त्यस्ता घरमा ज्यादा भीडभाड हुने रेष्टुरेन्ट, पार्टी प्यालेस आदि सञ्चालनमा छन् । यस्ता धेरैजसो घर व्यवसाय गर्न वा अरूलाई भाडामा दिन बनेका, बनिरहेका छन् । कोठा वा तला थपेर विद्यालय र अस्पतालले पनि यस्तै घरमा जोड दिइरहेका छन् ।

आम मानिसले भूकम्पको त्रासद बिर्सन थालिसकेका पो हुन् कि भन्ने यिनै घरले देखाउँछन् । किनभने झट्ट हेर्दा बलिया अनि आम बुझाइमा भूकम्पप्रतिरोधी ठानिएका यी अधिकांश घर त्यस्ता छैनन् । कारण, तिनको निर्माण तोकिएको मापदण्डबमोजिम भएको छैन । स्टीलका धेरै घर स्थानीय तहबाट नक्शापास समेत नगरी हचुवामै बनिरहेका छन् ।

यसका पछाडि काम गरेको छ, सजिलै छिट्टै पैसा कमाउने घरधनीको लोभले । धेरैलाई सम्झना हुनुपर्छ, यसैगरी छिटो पैसा कमाउने लोभमा बनाइएका गोंगबु क्षेत्रका घरहरू ६ वर्ष पहिलेको भूकम्पमा गल्र्यामगुर्लुम ढल्दा ठूलो मानवीय क्षति निम्तिएको थियो ।

बायाँ तस्बीरः जस्तापाता राखेर फ्रेममा वेल्डिंग नगरी ढलान गरेको र दायाँ तस्बीर: कभर फोटोको भवनमा मेटल डेकिङ अर्थात् स्टीलको पाता राखेर ढलान गरेको र यसो गर्दा भवन सुरक्षित हुन्छ । तस्वीरहरू: रुद्र पंगेनी

भूकम्पीय दृष्टिले सुरक्षित भनिएका धेरैजसो स्टीलका घर ठूलो भूकम्प मात्र होइन, स–साना धक्कामै पनि गल्र्यामगुर्लुम हुने खालका छन् । नक्शापासविनै बनिरहेका, नक्शापास गर्नेले पनि एक तलाको पास गरेर तीन तलासम्म थपिरहेकाले यी भवन कति सुरक्षित छन् भनेर हेर्ने कुनै आधार छैन दायाँ

स्टीलका भवन कंक्रिटबाट बन्ने आरसीसी संरचनाभन्दा कम खर्चमा र छिटो (केही हप्तामै) बन्छन् । भत्काएर अन्यत्र लैजान पनि सकिने खालका हुन्छन् । यसै त आकाशिएको महँगो जग्गा किन्न नसक्नेहरूले जग्गा लिजमा लिएर व्यवसाय गर्न समेत यस्तै घर बनाइरहेका छन् । ‘अस्थायी त हो, चलिहाल्छ नि’ भन्दै बनिरहेका यस्ता घरलाई संरचनाविद्हरू ६ वर्षअघि ठूलो क्षति निम्त्याएका गोंगबुका घरजस्तै देख्छन् । वरिष्ठ स्ट्रक्चरल इन्जिनियर राजन सुवाल भन्छन्, “छिटोछिटो कमाइ भैहाल्छ भनेर नयाँबस्तीमा नक्शापास विनै बनिरहेका स्टीलका घरहरू तिनै गोंगबुका जस्तै छन्, यसले ठूलै क्षति निम्त्याउन सक्छ ।”

भयावह गोंगबुकै पदचाप

२०७२ सालको भूकम्पमा गोंगबु, काठमाडौंको सानो क्षेत्रमा भत्केका घरका भग्नावशेषमा १६० भन्दा धेरैको ज्यान गएको थियो । उपत्यकाभित्रका नयाँबस्तीमध्ये सबभन्दा ठूलो क्षति गोंगबुमै भयो । कतिपय घरका भग्नावशेषबाट शव निकाल्नै हप्ता दिनसम्म लाग्यो । भत्केका धेरैजसो घर होटलका रूपमा प्रयोग भएका थिए । साढे दुई तलाको नक्शापास गरेर ९ तलासम्म उठाइएका ती घरका संरचना नै कमजोर थिए ।

त्यसमाथि ती घर ठडिएको गोंगबुको भौगर्भिक अवस्था नै कमजोर थियो । कुनै बेला ‘डोल क्षेत्र’ भनिने नदीकिनारको यो ठाउँमा अन्यत्र जस्तै सामान्य तवरले घर बनाइयो जबकि डोल क्षेत्रमा घर बनाउँदा धेरै कुरा ख्याल गरिनुपथ्र्यो ।

जसरी गोंगबुको भौगर्भिक अवस्था ख्याल नगरी जथाभावी घर बनाइयो, अहिले धेरै ठाउँमा बनिरहेका स्टीलका भवनको हविगत त्यस्तै छ ।

आर्किटेक्ट इन्जिनियर प्रविन लघु भन्छन्, “चार इन्चको पोल ठ्डयाएर तीनदेखि चार तलासम्मका स्टीलका भवन बनाइएका छन् । पिलर कमजोर तर स्ल्याब बलिया बनेका छन् । भोलि पिलर कोल्याप्स भएर यी घर स्यान्डविच जस्तै हुनसक्ने खतरा छ ।”

घरको डिजाइन बिम र माथिल्लो तलाभन्दा पिलर बलियो हुनेगरी गरिन्छ । तर, स्टीलका घरमा पिलर नै सबैभन्दा कमजोर देखिएको आर्किटेक्ट इन्जिनियर लघुको निष्कर्ष छ ।

२०७२ सालको भूकम्पपछि चक्रपथबाहिर नयाँँबस्ती ह्वात्तै बढे । तिनै बस्तीमा यसखाले जोखिमयुक्त स्टीलका भवन बनिरहेको स्थानीय तहका इन्जिनियरहरू नै बताउँछन् ।

ग्रिल पसले नै दक्ष जनशक्ति !

काठमाडौं उपत्यकामा बनिरहेका स्टीलका भवन किन असुरक्षित छन् त ? हामीले यसका विभिन्न कारण खोतल्ने क्रममा भेट्यौं, यसको एउटा प्रमुख कारण हो– दक्ष जनशक्ति नै नहुनु ।

आरसीसी भवनको नक्शा प्रायः सबै स्ट्रक्चरल इन्जिनियरले बनाउँछन् । तीमध्ये २५ प्रतिशतले मात्र स्टीलका भवनको नक्शा बनाउन जान्ने अनुमान गर्छन्, काठमाडौं उपत्यकाभित्रका भवनका संरचनाबारे जानकार स्ट्रक्चरल इन्जिनियर राजन सुवाल । त्यस्तै, लगभग सबैजसो डकर्मी र ठेकेदारले आरसीसी घर बनाउने तालिम लिएका हुन्छन् या त्यसबारे जानेका छन् । तर, स्टील संरचना हाम्रा लागि नयाँ हो । यसका लागि आवश्यक तालिमप्राप्त मेटल फेब्रिकेटर, वेल्डर अनि डकर्मी र ठेकेदार भेट्टाउनै मुश्किल पर्छ ।

मेटल र ग्रिलको काम गर्ने (मेटल फेब्रिकेटर)को तालिम सरकारी र केही निजी शिक्षालयहरूमा चलिरहे पनि त्यहाँबाट वर्षेनि केही दर्जनको संख्यामा उत्पादन हुने लगभग सबैजसो जनशक्ति विदेशिन्छ । २४ वर्षदेखि मेटल फेब्रिकेटरको तालिम दिइरहेका बालाजु स्कूल अफ इन्जिनियरिङ एण्ड टेक्नोलोजीका प्रशिक्षक अर्जुन कुमार श्रेष्ठ भन्छन्, “यहाँ त फलाम काट्न र झ्वार्र पार्न सक्नेलाई दक्ष जनशक्ति मानेर स्टीलका संरचना बनाउन लगाइन्छ ।”

बायाँ तस्बीरः वेल्डिङ गरेको मिलेको छैन अनि एंगललाई छेउछेउमा मात्रै वेल्डिंग गरिएको छ जडान गरिएको पुरै भागमा वेल्डिङ गर्नुपर्ने गरिएको छैन । दायाँ तस्बीरः वेल्डिङ राम्ररी गरेको ।

स्टीलका घर बनाउने सीप भएका वेल्डरको पनि अभाव छ । दुई दशकदेखि बालाजु स्कूल अफ इन्जिनियरिङ एण्ड टेक्नोलोजीमा वेल्डिङको तालिम दिइरहेका प्रशिक्षक ईश्वरलाल श्रेष्ठ भन्छन्, “हामीले तयार पार्ने वेल्डरहरूले यहाँ बसे मासिक रु.८ हजारदेखि १० हजार तलब पाउँछन् । उनीहरू तालिम सकेपछि रु.३० हजारदेखि ४० हजार तलब पाइने खाडी मुलुकतर्फ गइहाल्छन् ।”

यही कारण हुनसक्छ, स्ट्रक्चरल इन्जिनियर सुवालले घरधनीले नक्शापास गराए पनि घरछेउको ग्रिल पसलेलाई बोलाउने र आफैं निर्देशन दिएर स्टीलको घर बनाउन लगाउने परिपाटी हदैसम्म मौलाएको देखेका छन् । उनी भन्छन्, “डिजाइनर पनि धेरैजसो अनुभवी छैनन् । फेब्रिकेटर पनि भर्खर सिक्दैछन् । अनि स्टील संरचना ठड्याउने पनि सिपालु नहुँदा जथाभावी बनिरहेका घर असुरक्षित छन् । यसको परिणाम भोलि भयावह हुन सक्छ ।”

स्टीलका घर बनाउँदा जमीनमुनि आरसीसी भवन जस्तै हात्तीपाइले र टाइबिम राखेर मजबूत बनाउनुपर्ने मध्यपुर थिमि नगरपालिकाको नक्शा शाखा प्रमुख इन्जिनियर सन्तोषकुमार अधिकारी बताउँछन् । “माटो र पानीले स्टीलमा क्षति पु¥याउने हुँदा जमीनमुनि आरसीसीकै संरचना आवश्यक पर्छ”, अधिकारी भन्छन् ।

हामीले चक्रपथ बाहिरका नयाँबस्तीमा बनेका एक तलेदेखि तीन तलासम्मका स्टीलका घरको अध्ययन गर्दा धेरैजसोमा हात्तीपाइले र टाइबिम राखिएको भेटिएन । औंलामा गन्न सकिने थोरै भवनमा यो मापदण्ड पालना गरेको भेटिए पनि प्रायः सबैले सानो खाल्डो खनेर, केही फिट तल स्टीलको पिलर धसाएर ढलान गरेको र त्यसमै जडान गरेको मात्र भेटियो । हात्तीपाइले बनाइहाले पनि पिलरलाई सीधै हात्तीपाइलेमै लगेर जोडेको देखियो । कैयौं स्टील भवनको नक्शा बनाएका स्ट्रक्चरल इन्जिनियर राजन सुवाल भन्छन्, “स्टीलका संरचनाको डिजाइन त्यस्तो हँुदै होइन ।”

जमीनको तहभन्दा केही माथि (पानी नपर्ने उँचाइ) बनेको टाइबिममा नटबोल्टले कसेर मात्र स्टीलको पिलर ठड्याउनुपर्ने हुन्छ । पिलर जमीनमै गाडियो भने छिटो खिया लागेर कमजोर भई भवन नै चाँडै भत्किन सक्ने काठमाडौं महानगरपालिकाका स्ट्रक्चरल इन्जिनियर वीरबहादुर खड्का बताउँछन् ।

इन्जिनियरिङ अध्ययन संस्थानमा स्टिलका भवन निर्माणबारे पढाइरहेकी उप–प्राध्यापक आकर्षा खवास भन्छिन्, “यो त अस्थायी संरचना हो, यत्तिकै बनाए भैहाल्छ नि भन्ने गलत सोच हावी छ ।”

नक्शाबेगर नै बनेका यस्ता घरमा कति भार पर्न जान्छ भन्ने आकलन नै नगरी पिलर र बिम राखिएको, त्यसलाई जोड्ने तरिका पनि निकै कमजोर रहेको इन्जिनियरहरू बताउँछन् । त्यही भार आकलन गरेरै एक पिलरदेखि अर्को पिलरसम्मको दूरी र पिलरको मोटाइ किटान गरिन्छ । अनि सोहीअनुसार नक्शा बनाइन्छ । तर, आवास वा भीडभाड हुने रेष्टुरेन्टका लागि यस्ता घर बनाउँदा सर्वसाधारणले यस्तो हिसाब गरेको भेटिएन ।

कतिसम्म भने घरको भार गणनाविनै ग्रिल पसलबाट ल्याइएका पिलर र बिम जोडेरै घर ठड्याइँदो रहेछ । पूरा ज्ञान नभएका वेल्डर (जसले फलामका विभिन्न भाग जडान गर्छन्) ले काम गर्दा वेल्डिङको मोटाइ र त्यसमा प्रयोग गरिने कम भोल्टेजले बनाइएको सामग्रीको जोडाइ नै कमजोर हुन्छ । आफूखुशी बनाइने बिम र पिलरको मोटाइ, त्यसलाई जडान गर्दा हुने कमजोरीले कमजोर घरहरू बनिरहेको घरधनीहरूसँगको कुराकानीबाट प्रष्ट हुन्छ ।

२०७२ सालअघि आरसीसी भवन बनाउँदा जस्तै बेवास्ता, लापरवाही र मनपरी अहिले स्टीलका भवन निर्माणमा भइरहेको स्ट्रक्चरल इन्जिनियर सुवालको निक्र्योल छ । थुप्रै ठूला–साना स्टील भवनको नक्शा बनाइसकेका सुवालले भने, “नयाँबस्तीमा छिटो–छिटो बनाएर भाडामा लगाउन वा व्यवसाय गर्न आफूखुशी बनाइएका यस्ता घरले कति भार थेग्लान् भनेर थाहा पाउनै सकिन्न । यसरी गलत तरिकाले बनेका संरचनाहरूबाट हुनसक्ने संभावित दुर्घटनाका लागि भूकम्प नै कुर्नु पर्दैन ।”

घरधनी नै भइदिन्छन् इन्जिनियर

२०७२ को भूकम्पमा भत्केका घरहरूको संरचनागत त्रुटिबारे अध्ययन गरेका स्ट्रक्चरल इन्जिनियर सुवालले भने, “स्टीलका घरको नक्शा बनाउने इन्जिनियर थोरै छन् । अनि यसबारे जानेका मेटल फेब्रिकेटर, वेल्डर अनि डकर्मी पनि औंलामा गन्न सकिने मात्र छन् ।”

मेटल फेब्रिकेटरका प्रशिक्षक अर्जुनकुमार श्रेष्ठ भन्छन्, “अपवादलाई छाडेर भूकम्पपछि बनेका धेरैजसो स्टीलका घर, स्थायी तथा अस्थायी संरचना हेर्दा डर लाग्छ ।” श्रेष्ठको भनाइमा फलामलाई सही तरिकाले काट्ने, जोड्ने, खियाबाट जोगाउन खाक्सी लगाउने, लागेको खिया हटाएर प्राइमर र इनामेल लगाउने गरिएको छैन । त्यसो गर्न जान्ने तालिमप्राप्त जनशक्तिले बजारमा काम नपाउने अनि अर्कोतिर स्टीलका घर कच्चा बनिरहेका छन् भन्छन् श्रेष्ठ ।

बालाजु स्कूल अफ इन्जिनियरिङ एण्ड टेक्नोलोजीका वेल्डिङ तालिम प्रशिक्षक ईश्वरलाल श्रेष्ठले अहिले बजारमा भइरहेको वेल्डिङ अदक्ष व्यक्तिबाट भइरहेको र वेल्डिङको स्ट्यान्डर्ड नपुगेको बताए । उनले भने, ‘वेल्डिङ भनेर दुइटा भागलाई जोड्ने मात्र बुझ्नुहुन्न, फलामको मोटाइ र गहिराइसम्म पुगेको र राम्ररी पग्लेकोे वेल्डिङ हुनुपर्छ, फिनिसिङ पनि त्यस्तै हुनुपर्छ ।”

जस्तो कि वेल्डिङ गर्न लागेको फलामको मोटाइ र वेल्डिङ इलेक्ट्रोड (सँगैको तस्वीर) को आधारमा वेल्डिङ मेशिनमा बिजुलीको एम्पियर छनोट गरिन्छ जुन कुरा तालिम नलिएका वेल्डरलाई थाहा हुन्न ।

वेल्डिङ इलेक्ट्रोड

प्रशिक्षक श्रेष्ठका अनुसार वेल्डिङ गुणस्तरीय भए÷नभएको जाँच्ने एक्सरे तथा अल्ट्रासाउन्ड मेशिन देशमा भित्रिएकै छैनन् । जमीनको सतहमाथि, पानी पर्ने भागभन्दा माथि टाइबिम बनाएर पिलर राख्ने ठाउँमा (तलको तस्वीरमा देखाइएजस्तै) प्लेट राखी माथिबाट अर्को प्लेट जडान भएको पिलरलाई नटबोल्ट (तोकिएको आकारको)ले कस्नुपर्छ । तर, यो पनि भएको छैन । अनि ‘छिमेकीले यसै गरे, म पनि त्यही गर्छु’ भन्ने सोचले स्टीलका भवन ठडिइरहेका छन् ।

बायाँ : मध्यपुर, थिमिमा स्टीलले बनेका अधिकांश संरचनामा इनामेल पनि नलगाएको पिलर जमीनमै धसाएर ढलान गरिएको दखियो । दायाँ : मध्यपुर, थिमि नगरपालिका परिसरमा बनिरहेको स्टीलको दुईतले भवनमा जमीनसम्म आरसीसी भवनजस्तै बनाएर बिममुनि नै जे (अंग्रेजीको जे आकारको) हुकमा एंकर बोल्ट लगाएर तलको प्लेटमाथि अर्को प्लेटमा जोडिएको स्टीलको पिलर ठड्याइएको छ । स्टील जमीनको सतहभन्दा माथि रहेकोले पानीले असर नगर्ने, इनामेल लगाएकोले थप सुरक्षित देखिन्छ ।

घरधनी आफैं इन्जिनियर र आफैं ठेकेदार पनि भएर घर बनाइरहेको उदाहरण हो बायाँतर्फको तस्वीर । मध्यपुर थिमि नगरपालिकाको राधेराधे–भाटभटेनी हुँदै निकोसेरा जाने बाटोको यो घर भित्र र बाहिरका विभिन्न तस्वीर हामीले स्ट्रक्चरल इन्जिनियर सुवाललाई देखायौं । तस्वीर हेरेपछि उनले भने, “डिजाइन गरेको भवनमा यस्तो कमजोर कनेक्सन हुँदैन । हेर्दा यो भवन डिजाइन गरेको जस्तो लाग्दैन । कोलम र बिमहरू तुलनात्मक रूपमा साना देखिन्छन् । यो घर भूकम्पप्रतिरोधी छैन ।”

यो घर बनाउँदा नटबोल्टले जोडिएको छैन । नटबोल्ट नराखेर (जमीनको तहमा टाइबिममाथि प्लेट राखेर नटबोल्टले पिलर जडान गर्नेबाहेक) वेल्डिङकै मात्र पनि डिजाइन बनाउन सकिने तर, त्यति सानो सेक्सन (बिम र पिलर)को वेल्डिङले नपुग्ने सुवालले बताए ।

बायाँ तस्बीरः नक्सा नै नबनाईकन जमिनमा पानी पर्ने ठाउँमा सीधै फलामलाई धसाइएको । यसो गर्दा पानीले खियाँ लागेर छिट्टै टुट्ने हुन्छ । दायाँ तस्बीरः नक्साबमोजिम जमिनमुनिको टाईबिममै हुक जडान गरेर ढलान गरी नट बोल्टले पिलरलाई कसेको । यसो गर्नाले फलाममा खियाँ लाउन पाउँदैन ।

नक्शामा फलामलाई जोड्ने नटबोल्टको पनि छुट्टै स्पेशिफिकेशन डिजाइन गरिएको हुन्छ । डिजाइनबमोजिम विभिन्न आकारका नटबोल्टले टाइबिमको एंकर बोल्टमाथि बसेको प्लेटलाई पिलरसँग र पिलरलाई फेरि बिमसँग कस्छन् । कमजोर नटबोल्ट भूकम्पको धक्काले टुट्न सक्छ । “कमजोर जडान भयो भने भूकम्पको धक्का र हुरीले पनि क्षति पु¥याउन सक्ने त भई नै हाल्यो”, सुवालले भने ।

यो घरका धनी जयप्रसाद भट्टराईले नक्शापास गरेर घर बनाएको दाबी गरे पनि नक्शा र निर्माण सम्पन्न प्रमाण–पत्र देखाउन मानेनन् ।

घरको पहिलो तलामा आठ वटा सटरमा पसल छन् । दोस्रो तलामा दुइटा कफीशप चलाएका र भट्टराईले आफ्नै कार्यालय बनाएका छन् । तेस्रो तला खाली राखेका भट्टराईले मासिक रु.२ लाख घरभाडा बुझ्ने गरेको बताए । शुरूमा इन्जिनियरले बेलाबेलामा आएर घर हेरेको बताएका भट्टराईले कुरा गर्दै जाँदा भने जगदेखि घर निर्माण आफ्नै सोचअनुसार बनाएको स्वीकारे । जग बनाउँदा हात्तीपाइलेमै टाइबिमलाई धसाएको, त्यसको केहीमाथि टाइबिमको अर्को छेउमा माथिबाट सि–सेक्सन (जमीनमाथि आउने पिलर)मा लगेर वेल्डिङ गरेको सुनाए ।

तीनतले घर बनाउने भट्टराईको काइदा सुनेपछि इन्जिनियर सुवालले स्टीलको भवनको जग त्यसरी डिजाइन नगरिने बताए । उनले भने, “जमीनमुनिको हात्तीपाइले र टाइबिम आरसीसी भवनको जस्तै बनाउने, टाइबिममा एंकर बोल्ट हुक (तस्वीरमा देखाएजस्तै) राखेर ढलान गर्ने अनि त्यही एंकर बोल्टमाथि प्लेट राखेपछि प्लेट वेल्डिङ गरेको स्टीलको पिलरलाई माथिबाट नटबोल्टले कसेर मात्र स्टीलको पिलर ठड्याउने हो ।”

यसो गर्दा नटबोल्टको छुट्टै स्पेसिफिकेसन, साइज र संख्या तोकिएको हुन्छ । भट्टराईले नटबोल्ट महँगो पर्ने भएकोले आफूले त्यसो नगरेको स्वीकारे । उनले यो घर बनाउँदा नजिकैको मनकामना इन्जिनियरिङ वर्कशपका अमर श्रेष्ठले ग्रिलको काम गरेका थिए । फेब्रिकेटर तालिम नलिएको स्वीकारेका अमरले भने, “मैले तालिम नलिए पनि वर्षेनि ६ देखि ८ वटा यस्ता स्टीलको घरमा आफैं फेब्रिकेशन र वेल्डिङको काम गरेको छु ।” उनले जस्तो माग हुन्छ त्यस्तै सामग्री बनाउने र गएर वेल्डिङ गरिदिने गरेको बताए ।

यो घरभन्दा करीब १५० मिटर पर स्टीलबाटै बनेको अर्को घर छ । भाडामा दिन बनाइएको तर, भुईंतलाबाहेक खाली रहेको यो घरको भित्री भागहरूको तस्वीर र भिडियो हामीले स्ट्रक्चरल इन्जिनियर सुवाललाई नै देखायौं । उनले भने, “यो घर ठीक तरिकाले डिजाइन गरी इन्जिनियरको निर्देशनमै बनाएको देखिन्छ । पिलर र ब्रेसिङ (पिलरका सपोर्ट) पनि राम्ररी बनाइएको रहेछ ।”

सँघारमै विपत्ति, स्थानीय सरकार बेपरवाह

२०६२ कात्तिक ३ गते पोखराको मणिपाल अस्पतालको प्रतीक्षालयमाथिको छाना खस्दा ११ जनाको मृत्यु भएको घटना सम्भवतः धेरैले बिर्सिसके । त्यसबेला अहिलेजस्तो स्टीलका भवन बनाउने प्रचलन थिएन । तर, मणिपालको प्रतीक्षालयमा स्टीलकै ट्रस राखेर छाना बनाइएको थियो । त्यसबेला घटनास्थलमै पुगेर अध्ययन गरेका इन्जिनियर नारायण गुरुङका अनुसार नक्शामा स्टीलको ट्रसमाथि जस्ताले छाउनुपर्ने थियो । तर, त्यसमाथि पानी पर्दा आउने आवाज रोक्न छानामाथि नै ढलान गरिएको, त्यसमाथि सौन्दर्यको लागि स्लेटले छाएको हुँदा ट्रसले भार थेग्न नसकी दुर्घटना भएको थियो । गुरुङ भन्छन्, “भार गणना नगरी नक्शाा पासविनै अथवा एक दुई तलाको नक्शापास लिएर माथि तला थप्दै जाने हो भने मणिपालको घटना धेरैतिर दोहोरिन सक्छ । त्यसका लागि भूकम्प कुर्नै पर्दैन ।”

इन्जिनियरहरूका अनुसार स्टीलको घरमा दोस्रो तलाको फ्लोर पनि उपयुक्त साइजको फलामलाई बिममा अड्याएर राख्नुपर्छ । सोही फ्रेममाथि फलामको पाता राखेर बिममा वेल्डिङ गर्ने अनि त्यसमाथि झण्डै तीन इन्चको आरसीसी भवन जस्तै ढलान गर्नुपर्ने हुन्छ । तर, अहिले फलामको पाताको सट्टा जस्तापाता राखेर त्यसमाथि आवश्यकभन्दा बाक्लोे ढलान गर्ने चलन व्यापक छ । वरिष्ठ स्ट्रक्चरल इन्जिनियर सुवाल भन्छन्, “जस्तासँग फ्रेम जडान नगरिएको (वेल्डिङ नभएको) भवनमा जस्तासँगै ढलान चिप्लिएर एकातिर, पिलर र बिम अर्कोतिर सर्न सक्छ । अनि माथिल्लो तलाको भार बढी भएमा सानै धक्काले पनि त्यस्तो घर गल्र्यामगुर्लुम लड्न सक्छ ।”

स्थानीय सरकार सञ्चालन ऐन २०७४ ले भवन मापदण्ड पालनाका लागि निजी घरको नक्शापास तथा बनेका घर नक्शाबमोजिम भए÷नभएको जाँच गर्नेे अधिकार स्थानीय तहलाई तोकेको छ । तर, भवन निर्माणलाई सुरक्षित पार्न स्थानीय तह जिम्मेवार देखिंदैनन् । जस्तो कि, काठमाडौं महानगरपालिकाका स्ट्रक्चरल इन्जिनियर वीरबहादुर खड्काले भने, “त्यसरी बनेका घरको अनुगमन गर्ने पर्याप्त जनशक्ति हामीसँग छैन ।”

ललितपुर महानगरपालिकाका स्ट्रक्चरल इन्जिनियर प्रदीप पौडेलले त स्टीलका घरलाई छुट्टै वर्गीकरणमा नराखिएको, एकाध घरको नक्शापासका लागि आउने गरे पनि त्यसबारे खासै तथ्यांक र जानकारी नभएको बताए ।

भक्तपुरको मध्यपुर थिमि नगरपालिकामा सरदर १० मा १ घरको नक्शापासको निवेदन स्टील संरचनाको हुन्छ । नगरपालिकाको नक्शा शाखा प्रमुख, इन्जिनियर सन्तोषकुमार अधिकारीले नक्शा बनाएका भन्दा धेरै स्टीलका घर नक्शाविनै बनिरहेको आफैंले देखेको बताए । “एकतलाको नक्शापास लिएर तला थपिदिने घटना प्रशस्तै भएको हुनुपर्छ, किनकि एकतलाको नक्शापास लिएकाहरू निर्माण सम्पन्न प्रमाणपत्र लिन अक्सर आउँदैनन् ।”

स्थानीय सरकार सञ्चालन ऐनको दफा ३९ ले नक्शापास नगरी भवन बनाए रु.५ लाखसम्म जरिवाना गरी सो भवन भत्काउन लगाउने अधिकार स्थानीय तहका प्रमुखलाई तोकेको छ । पास भएको नक्शामा स्वीकृतिवेगर हेरफेर गरी भवन निर्माण गरेको वा गरिरहेको ठहरेमा रु.२ लाखसम्म जरिवाना गर्ने र त्यसरी बनाएको संरचना भत्काउन आदेश दिने अधिकार पनि स्थानीय तह प्रमुखलाई छ । तर, त्यस्तो भइरहेको छैन । किन त ?

मध्यपुर थिमि नगरपालिकाका मेयर मदनसुन्दर श्रेष्ठले त्यसरी नयाँबस्तीहरूमा व्यावसायिक प्रयोजनका लागि नक्शापासविनै बनेका दुई–तीन तले स्टीलका भवनहरूले भूकम्पीय जोखिम बढाएको स्वीकारे ।

उनले भने, “त्यस्ता भवनहरूमा रेष्टुरेन्टहरू पनि चलेको पाएका छांै । नगरप्रहरीको संख्या थोरै हुँदा अनुगमन गर्न सकेका छैनौं थप २० जना नगरप्रहरी नियुक्ति गरिसकेपछि छिट्टै नै ती सबै नक्शापास विना बनेका संरचनाहरू भत्काउन लगाउने छौं ।” मापदण्डबमोजिम नै बनेको भए नक्शा पासको तीन गुणा राजस्व बढी तिरेर नक्शा पास गर्न भने पाइने कुरा श्रेष्ठले बताए ।

बनाउन जाने बलिया हुन्छन् स्टीलका घर

अहिले स्टीलका घर धेरैको रोजाइ बन्न थालेका छन् । कारण यस्ता घर छिटो र आरसीसी भवनभन्दा थोरै खर्चमा बन्ने, अर्को ठाउँमा सार्न सकिने र रिसाइकल गर्दा पनि राम्रै मूल्य पाइन्छ । इन्जिनियरहरूका अनुसार भत्काएर अन्यत्र लैजाँदा पनि ६० देखि ७० प्रतिशत त्यही संरचनाकै प्रयोगले अर्को घर बनाउन सकिन्छ । ती फलामका सामग्री कवाडीमै बेच्नुपर्दा पनि दश वर्षपछि फलामको भाउ बढ्दै जाने हुँदा अहिले तिरेकै मूल्य पाउन सकिन्छ ।

पिलरको आकार सानो हुने हुँदा घरभित्रको क्षेत्रफल बढी निस्कन्छ । उपयुक्त डिजाइन र त्यसअनुसार निर्माण गर्ने हो भने स्टीलको घर बलियो हुन्छ । स्काइलाइन आर्किटेक्टस्का प्रमुख, आर्किटेक्ट इन्जिनियर प्रविन लघु भन्छन्, “स्टीलको भागहरू (मेम्बर)लाई कसरी जोड्नुहुन्छ भन्ने कुराले यसको बलियोपन निर्धारण हुन्छ ।”

लघुका अनुसार स्टीलका घर दायाँ–बायाँ लचकदार नहुने आरसीसी भवनभन्दा धेरै लचकदार हुन्छन्, जसले गर्दा यस्ता घरमा भूकम्पीय जोखिम कम हुन्छ ।

एउटा आरसीसी भवन बनाउन लाग्ने समयभन्दा आधा समयमै स्टीलको घर तयार हुन्छ । त्यही आकारको घरमा खर्च पनि २५ देखि ३० प्रतिशत कम लाग्ने इन्जिनियरहरू बताउँछन् । तर, ठूला भवनहरूमा खर्च कम लागे पनि साना घर विधि पु¥याएर बनाउँदा भने त्यति किफायती नहुने लघुले बताए ।

अहिले संसारभर नै बहुतले अपार्टमेन्ट र गगनचुम्बी भवन स्टीलबाटै बन्छन् । यस्ता भवनको भार कम हुने हुँदा भूकम्पीय जोखिम पनि कम हुन्छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको एअर कार्गो अफिस, टाटा, हुन्डाई जस्ता थुप्रै गाडीका शोरुम अनि एक पिलरदेखि अर्को पिलर अलि पर राख्नुपर्ने खालका सबैजसो उद्योग स्टीलकै बनेका छन् । देशभरका ठूला पुल, हाइटेन्सन प्रसारण लाइन पनि स्टीलबाटै निर्मित छन् ।

घर बनाउने विधि र तरिका मिलाउने हो भने स्टीलका घर आरसीसीभन्दा बलिया हुने, धेरै तले पनि बनाउन सकिने स्ट्रक्चरल इन्जिनियर सुवाल बताउँछन् । खास भवन वा ठूला हल बनाउन स्टीललाई महत्वपूर्ण मान्ने सुवाल भन्छन्, “आवासका लागि दुई–तीन तले बनाउने हो भने आरसीसी भवन उपयुक्त हुन्छ । त्यसका निर्माण सामग्री देशभित्रै उत्पादन हुन्छन् तर, स्टील विदेशबाट ल्याउनुपर्छ ।”

Loading...