उपत्यकाको सुरक्षा व्यवस्था कडा, १ हजार ३ सय ट्राफिक प्रहरी परिचालन, ६८ स्थानमा चेकिङ

महानगरीय ट्राफिक प्रहरी महाशाखाले काठमाडौं उपत्यकाको सुरक्षा व्यवस्था कडा पारेको छ । होलीलाई मर्यादित र दुर्घटनारहित बनाउने उद्देश्यले काठमाडौं, ललितपुर र भक्तपुरमा १ हजार ३ सय ट्राफिक प्रहरीलाई खटाइएकाे हो ।

होली मनाउँदा सवारी नियम तोड्ने खालका गतिविधि नियन्त्रण गर्न तथा दुर्घटनारहित होली बनाउन जनशक्ति परिचालन गरेको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक उमेशराज जोशीले जानकारी दिए । त्यस्तै नाकासहित ६८ स्थानमा विशेष जाँचको प्रवन्ध मिलाइएको महाशाखाले जनाएको छ ।

प्रहरी नायब उपरीक्षकको नेतृत्वमा आज बिहानैदेखि दुई वटा अनुगमन टोली, १४ वटा मोबाइल टोली, सवारी साधन अभिलेख व्यवस्थापन टोली र मोटरसाइकलमा थप ट्राफिक प्रहरी परिचालन गरिएको जोशीले बताए ।

साथै उछृङ्खल तथा अवान्छित तरिकाले सवारी साधनको प्रयोग गर्ने, मादक पदार्थ सेवन गरी गाडी चलाउने, मोटरसाइकल चलाउँदा हेल्मेट नलगाउने,सवारी साधनको प्रयोग गरी महिलालाई लक्षित गरी रङ वा लोला हान्ने र अभद्र व्यवहार गर्नेलाई कारबाही गरिने प्रहरीले जनाएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार