गम्भीर प्रकृतिका कोरोना संक्रमित बढ्दै , ३१७ जना भेन्टिलेटर र आईसीयूमा उपचारत

भेन्टिलेटर र आईसीयू पाउनै मुस्किल

नेपालमा कोरोना भाइरस महामारीको दोस्रो लहर सुरु भएको छ । प्रत्येक दिन सङ्क्रमितहरुको संख्या बढिरहेको छ भने नेपालमा नयाँ भेरियन्टको कोरोना पनि भित्रिसकेको छ । अहिले देखिएको नयाँ प्रकारको भाइरस चाँडै सर्ने भएकोले मृत्युदर पनि उच्च रहेका छ भने सिकिस्त संक्रमितको संख्या दिनहुँ बढ्दै गइरहेको छ । सिकिस्त संक्रमितमध्ये पनि यो महिना ५० वर्ष मुनिका बिरामी ५०% कै हाराहारीमा छन् । जुन अघिल्लो ३ महिनाको तुलनामा संख्यात्मक हिसाबले दोब्बर जत्तिकै हो । अहिले पत्ता लागेका संक्रमितमध्ये सिकिस्त संक्रमितको संख्या धेरै छ ।

पछिल्लो समय संक्रमण दर बढेसँगै मृत्युदर पनि बढेको छ । कडा लक्षणसहितको संक्रमित देखिनु र दीर्घरोगीहरूमा समेत बढी संक्रमण देखिएकाले मृत्युदर बढेको बताइएको छ । भेन्टिलेटर तथा आईसीयूमा राख्नुपर्ने गम्भिर खालका संक्रमितको संख्या बढेसँगै मृत्युदर पनि बढेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर गम्भीर प्रकृतिका ३ सय १७ जना कोरोना संक्रमित आईसीयू र भेन्टिलेटरमा उपचाररत छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६५ जना भेन्टिलेटर र २ सय ५२ जना संक्रमित आईसीयूमा उपचाररत रहेका छन् ।

आईसीयूमा रहेका संक्रमितको संख्या सबैभन्दा बढी बाग्मती प्रदेशमा १२७ जना रहेका छन् । बाग्मतीमा ४४ जना भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ । लुम्बिनी प्रदेशमा ६४ जना आईसीयू र १६ जना भेन्टिलेटरमा छन् । यस्तै सुदूरपश्चिममा १० जना आईसीयू र ४ जना भेन्टिलेटरमा उपचारत छन् । गण्डकी प्रदेशमा ५ जना आईसीयू र १ जना भेन्टिलेटरमा उपचाररत छन् ।

प्रदेश १ मा २१ जना, प्रदेश २ मा ९ जना र कर्णाली प्रदेशमा १६ जना आईसीयू उपचाररत छन् । हालसम्म नेपालमा कोरोना संक्रमित मृतकको संख्या ३ हजार १ सय ६४ पुगेको छ । आइतबार २८ जना कोरोना संक्रमितको मृत्यु भएको थियो । यस्तै नेपालमा कोरोना संक्रमितको संख्या तीन लाख २ सय ९ पुगेको छ । जसमध्ये सक्रिय संक्रमितको संख्या १९ हजार ३ सय ८३ छ ।

देशभर कोरोना संक्रमितको संख्या बढेसँगै होम आइसोलेसनमा बस्नेको संख्या पनि बढ्दै गएको छ । आइतबार १९ हजार ३ सय ८३ जना सक्रिय संक्रमितमध्ये १७ हजार ७ सय ८८ जना होम आइसोलेसनमा रहेका छन् भने १ हजार ६ सय ९४ जना बिभिन्न अस्पतालमा उपचारत छन् । यससँगै दैनिक सङ्क्रमितको सङ्ख्या बढ्न थालेपछि श्यया भरिन थालेका छन् । प्रतिदिन कोरोना संक्रमित थपिँदै जाँदा आईसीयू र भेन्टिलेटर अभाव देखिएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार