सञ्चालनमा आयो सर्लाहीको नवलपुर सवस्टेशन

सर्लाहीमा स्थापना हुने नयाँ उद्योगका लागि तथा स्थानीयस्तरमा सहजरुपमा विद्युत् आपूर्तिका लागि महत्वपूर्ण मानिएको नवलपुर सवस्ेटशन सञ्चालनमा आएको छ ।सहज विद्युत् आपूर्तिका लागि भौतिक पूर्वाधारको विकासमा जोड दिँदै आएको सरकारले मधेश प्रदेशमा पनि उत्तिकै प्राथमिकताका साथ काम गरिरहेको छ । सरकार र नेपाल विद्युत्् प्राधिकरणको संयुक्त लगानीमा सर्लाहीको लालबन्दी नगरपालिका–१ नवलपुरमा निर्माण भएको १३२÷३३ केभी क्षमताको सवस्टेशन आजदेखि सञ्चालनमा ल्याइएको हो ।

सर्लाहीको विद्युत् आपूर्तिलाई भरपर्दो तथा व्यवस्थित बनाउन र आगामी दिनमा खुल्ने नयाँ उद्योगलाई विद्युत् उपलब्ध गराउन निर्माण गरिएको सवस्टेशन आज ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले उद्घाटन गर्नुभएको प्राधिकरणले जनाएको छ ।

उनले आम नेपाली जनताले उज्यालोका लागि मात्र नभई खाना पकाउन, सिँचाइ गर्न, उद्योग तथा कलकारखाना चलाउनका लागि प्रयोग गर्ने विद्युत्को खपत बढाउन आग्रह गरिन। तराई तथा मधेश क्षेत्रमा सिँचाइमा विद्युत् खपतको प्रचुर सम्भावना देखेर नै सरकारले सिँचाइका लागि विद्युत् महसुल घटाएको उल्लेख गर्दै मन्त्री भुसालले सिँचाइका लागि पेट्रोलियम पदार्थबाट चल्ले उपकरण विस्थापन गर्न आग्रह गरिन्। “अहिले हामी वार्षिक रु दुई खर्बभन्दा बढीको खाद्यान्न आयात गरिरहेका छौँ, विद्युत् प्रयोग गरी सिँचाइ गरेर उत्पादन वृद्धि गरौँ, बाँझो खेत नराखौँ,” उनले भने, “विद्युतीय ऊर्जा प्रयोग गरी उद्योग खोलौँ, कृषि गरौँ र मुलुकभित्रै रोजगारीको सिर्जना गर्दै अर्थतन्त्रलाई आत्मनिर्भर बनाउनेतर्फ लागौँ ।”

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार