काठमाडौं । यूएईसँग पराजित भएपछि नेपाल टी २० विश्वकप क्रिकेटमा छनोट हुन सकेन । अब फेरि नेपालले यूएईसँग खेल्नेछ, यसले पनि विश्वकप लिग टु क्रिकेटमा नेपालको आगामी यात्राबारे एक हदसम्म निर्धारण गर्ने छ ।
लिग टुको त्रिकोणात्मक श्रृंखला चैत १ देखि ८ गतेसम्म यूएईमा हुनेछ, जहाँ नेपालसहित घरेलु टोली यूएई र पपुवा न्युगिनी (पीएनजी)ले प्रतिस्पर्धा गर्नेछन् ।नेपाली टोली श्रीलंकामा अभ्यास गरेर यूएई पुगिसकेको छ । लगातार टी–२० क्रिकेट खेलिरहेको नेपालले श्रीलंकामा खेलेका चारवटा अभ्यास खेलमध्ये तीनवटा जित्यो ।
प्रशिक्षक पुबुदु दासानायकेले चार अभ्यास खेलमा टिममा भएका सबै १६ खेलाडीलाई परीक्षण गरेका थिए । तर नेपालले अझै पनि पूरा ५० ओभर खेल्न संघर्ष गरिरहेको छ । तीन खेलमा नेपालले ५० ओभर पूरै पनि ब्याटिङ गर्न सकेन ।
युएईमा सुरू सिरिजमा नेपालले दुवै टिमसँग दुई दुई गरी कुल चार एकदिवसीय खेल खेल्नेछ।सिरिजमा चार मध्ये तीन खेलमा जित हात पारे नेपाल अंक तालिकामा दुई स्थान माथि उक्लनेछ। दुई खेलमा मात्र जित हात पारेको अवस्थामा भने नेपालको स्थान परिवर्तन हुनेछैन।
सबै खेलमा जित हात पारे नेपाललाई थप फाइदा पुग्नेछ, राम्रो रन रेट भएमा नेपालले स्कटल्यान्डलाई समेत पछि पार्न सक्नेछ।अंक तालिकामा शीर्ष स्थानको ओमानले २८ खेलबाट ३६ अंक जोडेको छ। दोस्रो स्थानको स्कटल्यान्डको १२ खेलबाट १६ अंक र तेस्रो स्थानको युएईको १४ खेलबाट १६ अंक नै छ।