सोमबार मुख्यमन्त्री गुरूङविरूद्धको अविश्वास प्रस्ताव पेस हुने

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्धको अविश्वासको प्रस्ताव सोमबार प्रदेश सभामा पेश हुने भएको छ । सोमबारदेखि शुरू हुने गण्डकी प्रदेशसभाको विशेष अधिवेशनमा मुख्यमन्त्री गुरुङविरुद्धको अविश्वास प्रस्ताव पेश हुने भएको हो ।

आइतबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले सोमबारको विशेष अधिवेशनमा अविश्वास प्रस्ताव टेबुल गर्ने निर्णय गरेको हो । अविश्वासको प्रस्ताव पेश गरेर सोमबारदेखि नै छलफल अघि बढाउने र सांसदहरुलाई उक्त प्रस्तावका बारेमा बोल्न समय दिने सभामुख नेत्रनाथ अधिकारीले जानकारी दिए । उनका अनुसार अविश्वासको प्रस्तावउपर भने बैशाख १५ गते मतदान हुने भएको छ । गण्डकी सरकारविरुद्ध विपक्षी दलहरु नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीले प्रदेश सभा सचिवालयमा गत वैशाख २ गते अविश्वासको प्रस्ताव दर्ता गरेका थिए ।

उक्त प्रस्ताव आउने निश्चित भएपछि मुख्यमन्त्री गुरुङले बैशाख १ गते राती १२ बजेदेखि लागु हुने गरी प्रदेश सभाको हिउँदे अधिवेशन अन्त्य गरिदिएका थिए ।

अधिवेसन अन्त्य भएपछि विपक्षी दलहरुले प्रदेश प्रमुख अमिक शेरचनलाई प्रदेश सभाको विशेष अधिवेशन बोलाउन निवेदन दिएका थिए । सोही निवेदनका आधारमा प्रदेश प्रमुख शेरचनले बैशाख १३ गते विशेष अधिवेशन बोलाएका हुन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार