दूरसञ्चार सेवा प्रदायक कम्पनी नेपाल टेलिकमले लाभांश घोषणा गरेको छ । फागुन ३० गते सोमबार बसेको कम्पनी सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७७/०७८ को मुनाफाबाट सेयरधनीलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।
साे कम्पनीले पहिलोपटक सेयरधनीलाई बोनस सेयर प्रस्ताव गरेको छ । १५ अर्ब रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट २० प्रतिशत बोनस सेयर र २० प्रतिशत नगद लाभांश गरी कुल ४० प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ ।
अर्थ मन्त्रालयको स्वीकृति र आउँदो १४औं वार्षिक साधारणसभाबाट पारित भएपछि कम्पनीको प्रस्तावित लाभांश सेयरधनीमा वितरण हुनेछ ।
चैत २४ गते कम्पनीले प्रस्तावित लाभांश पारित गर्न साधारणसभा बोलाएको छ । कम्पनीले साधारणसभा प्रयोजनका लागि चैत ११ देखि २३ गतेसम्म सेयर दाखिला खारेजी (बुक क्लोज) गर्ने निर्णय गरेको छ । चैत १० गतेसम्म कायम सेयरधनीले कम्पनीको लाभांश र साधारणसभामा भाग लिन सक्नेछन् ।