हिमालयन चितुवाले चुमे ‘अन्तरराष्ट्रिय प्रोफेशनल किक बक्सिङ हिट ४८’ को उपाधि

युवा पुस्ताका बक्सर अविरल घिमिरेले ‘अन्तरराष्ट्रिय प्रोफेशनल किक बक्सिङ हिट ४८’ को उपाधि चुमेका छन् । जापानको नागोया शहरमा अवस्थित नागोया कङ्ग्रेस हलमा आज आयोजित भिडन्तमा हिमालयन चितुवाले पहिलो राउण्डमा नै जापानी खेलाडी योसिदा यइजीलाई परास्त गर्दै ऐतिहासिक जीत हात पारेका हुन् । विश्वका भेट्रान बक्सरलाई मात्र सो प्रतियोगितामा खेलाइने आयोजकले जनाएको छ ।

आकर्षक भिडन्तमा सोे प्रतियोगिता जित्ने अविरल कम उमेरका पहिलो बक्सर बनेका छन् । घिमिरेले गत चैत १५ गते ‘के वान फेस्टिबल २०२१’ को उपाधि चुमेका थिए । जापानको टोकियो शहरमा सम्पन्न सो अन्तरराष्ट्रिय प्रतियोगितामा उनले जापानी बक्सर खोतेजुलाई पहिलो राउण्डमा परास्त गर्दै नेपालका लागि ऐतिहासिक जीत दिलाएका थिए । विश्वका चर्चित बक्सरलाई मात्र सो महोत्सवमा खेलाइएको थियो ।

सो प्रतियोगिताको पदक आफ्नो पक्षमा ल्याएसँगै उनी कम उमेरका पदक हात पार्ने पहिलो नेपाली युवा खेलाडीसमेत बनेका थिए । दश हजारभन्दा बढी जापानीले विश्वचर्चित सो भिडन्त हलमा हेरेका थिए भने आबेमा युट्युब च्यानलमार्फत विश्वभर प्रत्यक्ष प्रसारण गरिएको थियो । अन्तरराष्ट्रिय बक्सिङ खेलाडी एवं प्रशिक्षक देवकुमार घिमिरेका सुपुत्र अविरलले बुबाकै विशेष प्रशिक्षणमा महोत्सवको तयारी गरेका थिए ।

सानो उमेरमा बक्सिङमा ऐतिहासिक सफलता हात पार्दै आएका अविरल हालै सम्पन्न विश्वको प्रतिष्ठित ‘के वन किक बक्सिङ अन्तरराष्ट्रिय प्रतियोगिता २०२०’ मा दोस्रो स्थान प्राप्त गर्न सफल भएका थिए । नेपालका तर्फबाट कम उमेरमा सो प्रतियोगितामा भाग लिने अविरल पहिलो ‘बक्सर’समेत भएका थिए । २१ वर्षीय बक्सर घिमिरेले बाज्रिलियाली खेलाडी फिलिपसँग सो प्रतियोगितामा प्राविधिक कारणले मात्र पराजित हुनुपरेको थियो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार