म्यादी प्रहरी भर्ना यही साता खुल्दै, कति हुन्छ तलब ?

काठमाडौं । सरकारले आगामी ३० वैशाखको स्थानीय तहको निर्वाचनमा एक लाख म्यादी प्रहरी खटाउन स्वीकृति दिएको छ । नेपाल प्रहरीले एक लाख १८ हजार २३१ म्यादी प्रहरीका लागि प्रस्ताव गरेपनि अर्थ मन्त्रालयले एक लाख जनाका लागि मात्र बजेट स्वीकृत गरेको हो । २०७४ सालको निर्वाचनमा पनि ९९ हजार ९५५ म्यादी प्रहरी भर्ना गरिएको थियो ।

सूचना प्रकाशित भएपछि एक साताभित्र परेका आवेदनबाट योग्य उम्मेदवार छानिने प्रहरी प्रधान कार्यालय, नक्सालले जनाएको छ ।अहिले देशभर एकै चरणमा निर्वाचन हुँदा थप जनशक्ति चाहिएकाले थप २० हजार म्यादी प्रहरी भर्ना गर्ने प्रस्ताव प्रहरी प्रधान कार्यालयको छ ।

प्रहरीले तयार पारेको म्यादी प्रहरीको प्रारम्भिक छनौट मापदण्ड अनुसार जिल्ला–जिल्लाबाट म्यादी प्रहरी भर्ना गरिनेछ । त्यसका लागि प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा ६ सदस्यीय समिति बनाउने भनिएको छ ।

म्यादी नियुक्ति गर्ने मापदण्ड गृह मन्त्रालयबाट स्विकृत हुन बाँकी छ । सो मापदण्ड स्विकृत भएपछि दरखास्त लिएर चैत २८ बाट म्यादी नियुक्त गर्ने प्रहरी प्रधान कार्यालयको तयारी छ । म्यादी प्रहरी २०७९ वैशाख ३० मा चुनाव भएपछि थप एक साता सेवामा रहन्छन् ।

चुनावमा खटिने म्यादीले ४० दिन काम गरेपछि ३० हजार २ सय ८० रुपैयाँ तलब पाउँछन् । रासन बापत उनीहरुलाई ७ हजार उपलब्ध गराउने कार्यविधि तयार गरिएको छ । उनीहरुले ६ हजार बराबरको लत्ता कपडा र १ हजार गाडी भाडा पाउँछन् । दुई जोर जुत्ता, मोजा, झुल र स्ल्पिङ ब्याग उपलब्ध गराउने कार्यविधि तयार गरिएको छ । रासन र कपडा सहित एकजना म्यादी प्रहरीका लागी राज्य कोषको ४४ हजार ४ सय ८० रुपैयाँ खर्च हुन्छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार