मादी दुर्घटनामा ज्यान गुमाएका परिवारलाई नगरपालिकाले जनही एक लाख दिने

काठमाडौं । सङ्खुवासभाको मादी नगरपालिकाले बस दुर्घटनामा मृत्यु भएका १५ जनाको परिवारलाई जनही रु एक लाख दिने भएको छ । मादी नगरपालिकाको आज बसेको कार्यपालिकाको बैठकले मृतकका परिवारलाई जनही एक लाख दिने निर्णय गरेको नगर प्रमुख विदुरकुमार लिंथेपले बताए । यस्तै बैठकले घाइतेलाई उपचार खर्च जनही रु ५० हजारसमेत दिने उनले बताए ।

गत बिहीबार बिहान मादी–६ स्थित सात घुम्तीमा बस दुर्घटना हुँदा १५ जनाको मृत्यु भएको थियो । दुर्घटनामा चार जना घाइतेसमेत भएका थिए । मृतक र घाइतेको सम्झनामा भुमेश्वर महादेवको स्मारकसमेत बनाउने निर्णय पनि गरिएको छ । स्मारकमा घाइते र मृतकको नाम लेखिनेछ । मादीको ओखरबोटे बजारबाट झापाको दमकतर्फ जाँदै गरेको बा४ख ७३५ नम्बरको बस मादी नगरपालिका–६ को पुलुङस्थित सात घुम्तीमा दुर्घटना भएको थियो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार