बलात्कारका घटना बढ्दै, बलात्कृतमध्ये ७० प्रतिशत बालिका

काठमाडौं । डेढ वर्षीया बालिकाको बलात्कारपछि हत्या गरेको अभियोगमा मोरङ प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुन्दरहरैँचा नगरपालिका ७ का २५ वर्षीय अजय चौधरी र २८ वर्षीय मिथुन चौधरी रहेका छन् ।

उनीहरुले मोरङको बेलबारी ८ की ती बालिकालाई घरमा कोही नभएको बेलामा चोरेर एकान्तमा लगी बलात्कारपछि हत्या गरेको स्वीकार गरेका प्रहरीले जनाएको छ । आफ्नै घरमा खेलिरहेको अवस्थामा ती बालिका शुक्रबार साँझ साढे ५ बजे हराएकी थिइन् ।

एक घण्टापछि बालिका गम्भीर घाइते अवस्थामा घरबाट करिब एक सय ५० मिटर टाढा झाडीभित्र भेट्टिइन् । तत्कालै उपचारका लागि लगिए पनि अस्पतालले उनलाई बचाउन सकेन । प्रहरीको प्रारम्भिक अनुसन्धानमा बालिकाको बलात्कारपछि हत्या भएको पाइएको छ ।

बालुवा चाल्ने काम गरिरहेका दुई युवाले घरमा एक्लै भएको मौका छोपी झाडीमा लगेर बलात्कार गर्न खोजेको र पीडित रुन खोजेपछि बियरको बोतल र ढुंगाले टाउकोमा प्रहार गरेको प्रहरीको दावी छ । प्रहरीले दुवै युवकलाई पक्राउ गरिसकेको छ ।

बलात्कारका पीडित ७० प्रतिशत बालिका
पछिल्लो चार वर्षमा देशभर २३ जनाको बलात्कारपछि हत्या भएको प्रहरीको तथ्यांकले देखाएको छ । जसमध्ये प्रदेश १ मा ७ जना, मधेश प्रदेशमा ६ जना र सुदूरपश्चिम प्रदेशमा ५ जनाको बलात्कारपछि हत्या भएको प्रहरीले जनाएको छ । मारिनेमा अधिकांश बालिका छन् । नेपालमा बलात्कारका घटनामा करिब ७० प्रतिशत पीडित बालिका हुने गरेको पाइएको छ । २०७५÷७६ मा २ हजार २ सय ५४ जनाले बलात्कारको उजुरी गरेकामा एक हजार ४ सय २० जना बालिका थिए । तीमध्ये १० वर्षभन्दा मुनिका बालिकाको संख्या २९८ रहेको थियो ।

२०७६/७७ मा बलात्कारका २ हजार १ सय ६७ उजुरीमध्ये पीडित भनिएका एक हजार ३ सय ९३ जना बालिका थिए । तीमध्ये पनि २ सय ७३ जनाको उमेर १० वर्षभन्दा कम थियो । गत आर्थिक वर्षमा २ हजार ५ सय ५४ वटा बलात्कारसम्बन्धी उजुरीमा पीडित भनिएका एक हजार ६ सय ६५ जना बालिका थिए । तीमध्ये ३ सय ५ जनाको उमेर १० वर्षभन्दा कम थियो ।

मुलुकी अपराध संहिता २०७४ अनुसार बलात्कारपछि हत्याका दोषीलाई आजीवन कारबास सजाय हुने व्यवस्था छ । उनीहरू कहिल्यै जेलबाट निस्किन सक्दैनन् । यस्तै, १० वर्षभन्दा कम र ७० वर्षभन्दा उमेरभन्दा माथिकालाई बलात्कार गरे जन्मकैदको सजाय हुन्छ । त्यस्ता घटनामा दोषीले २५ वर्ष जेल बस्नुपर्छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार