सरोकारवाला निकायकोे खिचातानीले रानीपोखरी पुनर्निर्माण अलपत्र, महानगरका ईन्जिनियर भन्छन् ‘एक वर्षभित्रै बन्छ‘(भिडियोसहित)

तुल्सी अर्याल, टिभी अन्नपूर्ण ।

२०७२ वैशाख १२ को विनाशकारी भूकम्पले क्षति पुगे पछि पुनःनिर्माण गर्ने भन्दै भत्काइएको ऐतिहासिक महत्वका रानीपोखरीकोे पुनःनिर्माण सुरु हुन सकेको छैन । सरोकारवाला निकायबीचको आपसी खिचातानी र स्वार्थमा चलखेल भएपछि उच्च महत्त्वका पुरातात्त्विक सम्पदाको पुनःनिर्माण कार्यमा विलम्ब भएको हो । स्वार्थ र चासो बाझिएपछि काम गर्नका लागि सुरु भएर, पैसा खर्च गरिसकेर पनि यसको पुनर्निर्माण रोकिएको छ ।

पुनर्निर्माण प्राधिकरणले रानीपोखरी बनाउने जिम्मा महानगरलाई दिएको थियो । तर विवादमा तानिँदै आएको रानीपोखरीमा कंक्रिटले बनेका संरचना हटाउने भनेर पटक–पटक निकालेको सूचना र बोलपत्र अहिलेसम्म कार्यान्वयन हुन सकेको छैन । रानीपोखरीको भित्री भागको निर्माणको जिम्मा पुरातत्व विभागले लिएको छ भने बाहिरी भागको जिम्मा महानगरले लिएको छ ।
भूकम्पबाट क्षतिग्रस्त अन्य सम्पदाको हालत पनि उस्तै छ । पुनःनिर्माणका नाममा करोडौँ रुपैयाँ सकिए पनि प्रगति भने भएको छैन । काठमाडौं महानगर विभागीय प्रमुख इन्जिनियर राम बहादुर थापाले १ वर्ष भित्र रानीपोखरीको निमार्ण कार्य सम्पन्न हुने बताए । उनले दशै अघि नै काम सुरु हुने बताए । यद्यपि, निर्माण कार्य भने अझै अगाडि बढ्न सकेको छैन । उनका अनुसर अब बन्ने रानीपोखरीमा परम्परागत रुपमा प्रयोग गरिने सामाग्री र त्यही प्रकारको सैली र स्वरुप प्रयोग गरिनेछ ।

रानीपोखरी आसपास भएर आवतजावत गर्ने आम मानिसलाई हेर्दै आनन्दित बनाउथ्यो । तर, बीचको मन्दिरमात्रै भत्किए पनि पोखरीको माछा निकालेर पानीसमेत सुकाएपछि यो सुन्दर पोखरी खण्डहर बन्दै आएको छ । मानिसहरु रानीपोखरी अब कहिले बन्ला भनेर पर्खेर बसेका छन् । पुरातात्त्विक महत्त्वका सम्पदाको पुनर्निर्माण कार्यले भुकम्प गएको तीन बर्ष बितिसक्दा पनि गति नलिँदा राष्ट्रिय अन्तराष्ट्रिय क्षेत्रमा पनि बदनामी भएको रानिपोखरी भएर हिड्ने बटुवा बताउछन् । सहरको मुटुमा रहेको काठमाडौंको शोभा बढाएको यो ऐतिहासिक सम्पदा साढे तीन वर्षदेखि अलपत्र छ । बेबारिसे छ ।  दैनिक प्रधानमन्त्री, मन्त्री र उच्च पदस्थ सरकारी व्यक्तिहरु यही खण्डहर पोखरीको आसपासबाट हिड्छन् । तर, समयमैं बनाउँनका लागि अग्रसरता लिंदैनन् ।

Related posts

Leave a Comment