प्रकाश सपुतको गीतबारे प्रचण्डले भने- धेरै विरोध गर्नुपर्ने जस्तो लाग्दैन (भिडियोसहित)

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रकाश सपुतको गीत ‘पीर’को म्युजिक भिडियोमा भइरहेको विवादबारे प्रतिक्रिया दिएका छन् ।

माओवादीका जनवर्गीय संगठनसँगै केही नेताहरुले सपुतको उक्त गीतको म्युजिक भिडियो युट्युबबाट हटाउनुपर्ने चेतावनी दिइरहेका बेला अध्यक्ष प्रचण्डले सोमबार धनगढी विमानस्थलमा पत्रकारसँग कुराकानी गर्दै त्यसको धेरै विरोध गर्नुपर्ने जस्तो आफूलाई नलागेको बताएका छन् ।

उनले भने, ‘मैले पूरै गीत हेर्न पाएको छैन, मिडियाबाट थाहा पाएको हुँ । अहिले हामी कोही उत्तेजित हुनुपर्ने पनि छैन ।’

शान्ति प्रक्रियामा ल्याएर माओवादीले बर्बाद गर्‍यो भन्ने पनि नरहेको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले जनयुद्धप्रति हल्का टिप्पणी गर्न पनि नमिल्ने बताए । तर, यो विषयमा सयौं वर्षसम्म पनि बहस रहने उल्लेख गर्दै प्रचण्डले तर्क-वितर्क,पक्ष-विपक्षलाई स्वभाविक रूपले लिनुपर्ने बताए ।

प्रकाश सपुतले सिर्जनात्मक ढंगले गीत बनाउने गरेको भन्दै प्रचण्डले प्रशंसासमेत गरे ।

उनले माओवादी जनयुद्धलाई एउटा पाटोबाट मात्र हेरियो भने गलत हुने बताए । ‘एउटा पाटोबाट मात्र माओवादी युद्धलाई, माओवादी नेता कार्यकर्तालाई हेरियो भने त्यो गलत हुन्छ । त्यसका धेरै आयामहरु छन् । धेरै पक्ष छन्, धेरै मर्महरु छन्,’ प्रचण्डले भने ।

जनयुद्धबाट शान्ति प्रक्रियामा आउनु ठिक थियो कि थिएन भन्नेमा पनि बहस भइरहने उनले बताए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार