जग्गा जालसाजी प्रकरणमा वडाध्यक्षसहित सात जना पक्राउ

संखुवासभाको भोटखोला गाउँपालिकामा जग्गा जालसाजी प्रकरणमा वडाध्यक्षसहित सात जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा मालपोतका नायव सुब्बा समेत रहेका छन् ।

भोटखोला गाउँपालिका(४ का वडाध्यक्ष किन्साङ भोटेसहितको टोलीले स्थानीय दलबहादुर तामाङको २७ रोपनी जग्गा जालसाजी गरी आफन्तको नाममा पास गरेको खुलेको हो । वडा अध्यक्ष भोटे, मालपोत कार्यालयका कर्मचारीसहित सात जनाको टोलीले मृतक तामाङको नाममा रहेको जग्गा अर्काको नाममा पास गरेको अभियोगमा पक्राउ गरी सार्वजनिक गरेको हो ।

पक्राउ पर्नेमा वडाध्यक्ष भोटेसहित सोही वडाका सुरेन्द्र तामाङ, कप्पना भोटे, ङिमा लाजुङ भोटे, खाँदबारी–१ का हाल मालपोल कार्यालय खाँदबारीमा कार्यरत महेन्द्रकुमार पराजुली, मकालु गाउँपालिका( ४ घर भाई खाँदबारीमा लेखापढी व्यवसाय गर्ने अनिष गुरुङ र चैनपुर नगरपलिकाका पासाङ शेर्पा रहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रमुख डिएपी लालध्वज सुवेदीले बताए । पक्राउ परेका वडाध्यक्ष एमालेबाट निर्वाचित भएका थिए ।

दलबहादुरको मृत्युपछि उनको जग्गाको हकवाला एक मात्र सन्तान बिममाया तामाङ हुन् । उक्त जग्गा ७५ वर्षीया छोरी विममाया नाममा यही फागुन २ मा नामसारी भएको खुलेको छ ।

तर, विममायालाई आफ्नो नाममा जग्गा नामसारी भएको कुनै जानकारी दिएन । प्रहरीका अनुसार मृतकको नाममा रहेको जग्गा नामसारी गर्न आवश्यक पर्ने कागजतसहित नागरिकताको प्रतिलिपि, घरबाटो सिफरिस तथा जग्गा नामसारी गर्ने सिफारिस समेत वडा अध्यक्षले भोटेले खाँदबारीमै बसेर तयार पारेका थिए ।

प्रहरीका अनुसार उनीहरुले अपर अरुण जलविद्युत् आयोजनास्थलको मुआब्जा क्षेत्रमा पर्ने जग्गा स्थानीय ७५ वर्षीय वृद्धालाई ललाईफकाई गरेर रजिस्ट्रेसन पास गरेको खुलेको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार