काठमाडौं । प्रहरीले लागुऔषध ब्राउन सुगरसहित झापाबाट एक युवालाई पक्राउ गरेको छ । मोरङ गोविन्दपुर-२ घर भई हाल मेचिनगर नगरपालिका-१२ कालिझो डाँडा गाउँस्थित मामा घरमा बस्दै आएका १९ वर्षीय अवि नारायण लिम्बुलाई इलाका प्रहरी कार्यालय बुधबारे र प्रहरी चौकी चारआलीको संयुक्त टोलीले बिहीबार दिउँसो पक्राउ गरेको हो । उनको साथमा २१.३८ ग्राम ब्राउन सुगर फेला परेको प्रहरीले जनाएको छ ।
उनको साथबाट प्रहरीले प्लाष्टिक बाहेक २१.३८ ग्राम प्रतिबन्धित लागुऔषध ब्राउन सुगर र डिजिटल तराजुसमेत बरामद गरेको छ । पक्राउ परेका उनलाई झापा जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक बसन्त पाठकले जानकारी दिएका छन् ।