एमसीसी अनुमोदन गर्न सहयोग गरेको भन्दै माओवादी प्रदेश सांसदद्वारा पार्टी परित्यागको घोषणा

काठमाडौं । नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेश सभाका सांसद तथा प्रमुख सचेतक ठम्मरबहादुर विष्टले पार्टी परित्यागको घोषणा गरेका छन् ।आज शुक्रवार काठमाण्डौमा पत्रकार सम्मेलन गर्दै सांसद विष्टले माओवादी केन्द्रले पार्टीको सिद्धान्त र मूल्य–मान्यता विपरीत संसदबाट एमसीसी पारित गर्न सहयोग गरेकाले आफूले पार्टी परित्याग गरेको बताएका छन् । उनले पार्टीको जिम्मेवारीसहित कर्णाली प्रदेश सभाको सांसद र प्रमुख सचेतकको जिम्मेवारीबाट पनि राजीनामा दिएको बताए ।

सांसद विष्टले पार्टी नेतृत्वले एमसीसीको सम्बन्धमा कार्यकर्तालाई विरोध गर्न सडकमा उतार्ने र आफूले पर्दा पछाडि अनेक खालका चलखेल गरेको आरोप लगाए । पार्टीभित्र रचनात्मक आलोचनामार्फत पार्टीलाई रूपान्तरण गर्न हदैसम्म प्रयास गर्दा पनि सफल हुन नसकेको उनले बताए ।

उनले भने, ‘हाम्रो राजनीति, सिद्धान्त, दर्शन, मूल्य, मान्यताभन्दा धेरै पर पुगेर राष्ट्रघाती एमसीसी पारित गर्न पार्टी सहभागी भएको हुनाले पार्टी परित्याग गर्ने घोषणा गर्दछु । हामीले विरोध पनि गरिराख्ने, भत्ता पनि खाइराख्ने गर्नु हुँदैन । त्यसैले यो सबै कुराबाट मैले राजीनामा दिनुपर्छ ।’

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार