बोटलर्स नेपालविरुद्ध साढे ७ अर्ब रुपैयाँ कर छली मुद्दा

काठमाडौं । सरकारले बोटलर्स नेपालविरुद्ध सात अर्ब ४३ करोड रुपैयाँभन्दा धेरै बिगो दाबी गर्दै पुँजीगत लाभ कर छलीको मुद्दा दायर गरेको छ । राजस्व अनुसन्धान विभागले आज शुक्रवार उच्च अदालत पाटनमा बोटलर्सविरुद्ध सात अर्ब ४३ करोड ६३ लाख आठ सय २२ रुपैयाँ बराबरको कर तथा बिगो दाबी मुद्दा दायर गरेको विभागका महानिर्देशक प्रकाश पौडेलले जानकारी दिए ।

बोटलर्स नेपालविरुद्ध पुँजीगत लाभकर छलीमा विभागले अनुसन्धान गर्दै आएको थियो । बोटलर्स नेपाल लिमिटेडको आधाभन्दा बढी स्वामित्व एउटा कम्पनीबाट अर्कोमा हस्तान्तरण गर्दा पुँजीगत लाभ कर छलेको आरोप छ ।

बालाजु औद्योगिक क्षेत्रमा रहेको बोटलर्स नेपाल लिमिटेडका सञ्चालक, प्रबन्ध निर्देशक, आर्थिक कारोबार लेखा परीक्षणको मुख्य जिम्मेवारीमा रहेका १७ जनालाई प्रतिवादी कायम गरी राजस्व अनुसन्धान विभागले मुद्दा दायर गरेको हो ।

नेपालस्थित बोटलर्स नेपाल लिमिटेडमा अधिकांश शेयर स्वामित्व रहेको दुबईस्थित कम्पनी कोकाकोला साब्को एशियाले शतप्रतिशत शेयर सन् २०१४ अक्टोबर २४ मा आयरलैण्डस्थित यूरोपियन रिफ्रेसमेन्टलाई बिक्री गरेको थियो । कोकाकोला साब्को र यूरोपियन रिफ्रेसमेन्टबीच शेयर कारोबार हुँदा बोटलर्स नेपाल लिमिटेडको प्रतिकित्ता शेयरको स्वतन्त्र बजार मूल्य ३ हजार ८८३ हुने र सोमा कोकाकोला साब्कोको प्रतिकित्ता शेयर खरीद मूल्य ५३६ लाई लागतको रूपमा घटाउँदा हुन आउने ३ हजार ३४७ रुपैयाँ प्रतिकित्ता पूँजीगत लाभ हुने अनुसन्धानबाट पुष्टि भएको विभागले जनाएको छ ।

सोही आधारमा कोकाकोला साब्को एशियाको बोटलर्स नेपालमा रहेको १४ लाख ८४ हजार ३०१ कित्ता शेयर बिक्रीवापत ४ अर्ब ९६ करोड ७९ लाख ५५ हजार ४४७ रुपैयाँ पूँजीगत लाभ कायम हुने र सोमा आयकर ऐन, २०५८ को अनुसुची १ को दफा २(१) बमोजिम २५५ का दरले १ अर्ब २४ करोड १९ लाख ८८ हजार ८६२, सोही ऐनको दफा ७(१) बमोजिमको शुल्क (०.१ प्रतिशत) का दरले हुने ३ करोड ४१ लाख ९५०, दफा ११८ बमोजिमको ब्याज १५ प्रतिशतका दरले हुने ९ करोड ७८ लाख ६ हजार ६२२, दफा ११९ बमोजिमको ब्याज १५ प्रतिशतका दरले हुने १ अर्ब १० करोड २२ लाख ६५ हजार ११५ र दफा १२०(ख) बमोजिमको शुल्क १ अर्ब २४ करोड १९ लाख ८८ हजार ८६२ समेत कूल बिगो ३ अर्ब ७१ करोड ८१ लाख ५० हजार ४११ रुपैयाँ राजस्व चुहावट भएको अनुसन्धानबाट पुष्टि भएको विभागले जानकारी दिएको हो ।​

बोटलर्स नेपाल लिमिटेडको निहित शेयर स्वामित्वमा परिवर्तन हुँदा उक्त कम्पनीले ठूला करदाता कार्यालयलगायत सम्बन्धित निकायहरुमा कुनै जानकारी नदिएको विभागले जनाएको छ । साथै, शेयर स्वामित्व परिवर्तन हुनुपूर्व तथा पछाडिको आयकर ऐन २०५८ को दफा ५७ को प्रकृया पूरा गरी आर्थिक वर्ष २०७१/०७२ को छुट्टाछुट्टै आय विवरण पेश नगरी तथा निहित शेयर स्वामित्वमा परिवर्तन भएको कारणले सिर्जना हुने आयकर ऐन २०५८ बमोजिमको कर दायित्व पुरा नगरी राजस्व चुहावट गर्ने उद्देश्यले राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन २०५२ को दफा ४ को (क), (च) र (झ) बमोजिमको कसुर गरेको पुष्टि भएको विभागले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।​

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार