छोइनसक्नु महँगी, माघ महिनामा ५.९७ प्रतिशत मूल्य वृद्धि

काठमाडौं । गत माघ महिनामा वार्षिक बिन्दुगत उपभोक्ता मूल्य वृद्धिदर थप बढेको छ । पुस महिनामा ५.६५ प्रतिशत रहेको मूल्य वृद्धिदर (मुद्रास्फीति) माघमा ५.९७ प्रतिशत पुगेको हो ।

नेपाल राष्ट्र बैंकका अनुसार माघ, २०७७ मा यस्तो मूल्य वृद्धिदर २.७० प्रतिशत थियो । समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मूल्य वृद्धिदर ६.०० प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मूल्य वृद्धिदर ५.९६ प्रतिशत थियो ।

२०७७ माघ महिनाको तुलनामा २०७८ माघ महिनामा खाद्य तथा पेय पदार्थ समूह अन्तर्गत घ्यू तथा तेल, तरकारी र दाल तथा गेडागुडी उपसमूहको मूल्यवृद्धि क्रमशः २०.६८ प्रतिशत, १४.०७ प्रतिशत र ९.३६ प्रतिशत रहेको छ ।

साथै, गैर–खाद्य तथा सेवा समूह अन्तर्गत यातायात, शिक्षा र फर्निसिङ्ग तथा घरायसी सामग्री उपसमूहको मुद्रास्फीति क्रमशः १५.८७ प्रतिशत, ७.८६ प्रतिशत र ५.९२ प्रतिशत रहेको छ । क्षेत्रगत रुपमा यस्तो मुद्रास्फीति समीक्षा महिनामा काठमाडौं उपत्यकामा ५.४७ प्रतिशत, तराईमा ६.५० प्रतिशत, पहाडमा ५.३२ प्रतिशत र हिमालमा ५.९७ प्रतिशत रहेको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार