भोलि हुने भनिएको भन्सार एजेन्टको परीक्षा स्थगित

काठमाडौं । भोलि (शनिबार)का लागि तय भएको भन्सार एजेन्टको परीक्षा स्थगित भएको छ । उच्च अदालत पाटनले दिएको अल्पकालीन अन्तरिम आदेशअनुसार भन्दै भन्सार विभागले परीक्षा स्थगन भएको सूचना प्रकाशित गरेको छ । विभागले अर्को सूचना नभएसम्मका लागि परीक्षा स्थगित गरेको जनाएको छ ।

बिहीबार न्यायाधीश भोजराज अधिकारीको एकल इजलासले चैत ६ गतेसम्मका लागि परीक्षा स्थगित गर्न आदेश दिएको थियो ।भन्सार विभागले प्रकाशित गरेको सूचना नेपालको संविधानको धारा ४२ अनुसार समानुपातिकरसमावेशी नभएको भन्दै कृष्टिना थैवले भन्सार विभागलाई विपक्षी बनाई एक वर्ष अघि रिट दायर गरेकी थिइन् ।

रिट निवेदकले माग गरे बमोजिम अन्तरिम आदेश दिने कि नदिने भन्ने सम्बन्धमा दुवै पक्षसँग छलफल गर्न उपयुक्त हुने भन्दै अदालतले आगामी चैत ६ गते अदालतमा उपस्थित हुन विपक्षीको नाममा आदेश दिएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार