मिथिलाञ्चलमा लोप हुँदै होली गीतः जोगिरा सररर…

धनुषा ।
‘कौन तालपर ढोलक बाजे कौन ताल मृदङ्ग ?
कौन तालपर गोरिया नाचे कौन तालपर हम ?
जोगिरा सर र र ’

मिथिलाञ्चलमा गाइने यस प्रकारको जोगिराले होली पर्व खेल्नेहरुबीच सद्भाव, माया र उत्साहका साथै उर्जाको सन्देश सञ्चार हुने गर्ने गर्छ । होली पर्व र सङ्गीतबीच गहिरो सम्बन्ध हुन्छ । सङ्गीत बिनाको होलीको परिकल्पना नै गर्न सकिदैन । तर पछिल्लो समय होलीको पौराणिकता विस्तारै हराउँदै गएको छ । पहिलेजस्तो होलीमा कथा, व्यथा तथा व्यङ्ग्यात्मक गीत सुन्न विरलै पाइन्छ । “मृदङ्ग, ढोलसँगै डम्फुको स्वर पनि हराउन थालिसक्यो”, जनकपुरधामका कैलाशप्रसाद महतोेले भन्नुभयो, “होलीको तर्क, दर्शनलाई गम्भीरतापूर्वक नलिइएकाले अबको सहरमुखी होलीले मौलिकता हराउँदै गएको छ ।”

फागुको बेला यस्ता गीतले सारा गाउँघर गुन्जाएका हुन्थ्यो तर अहिले गीत, ढोल, मृदङ्ग र डम्फूको स्वर बिरलै सुन्न पाइने गरेको उहाँको भनाइ छ । “वसन्त ऋतुको आगमनसँगै श्रीपञ्चमीदेखि फागु पूर्णिमासम्म गाइने फागु गीत लोप हुन थालेकामा खल्लो लाग्छ”, उनले भने , “उहिले गीत गाएरै फागु आएको सङ्केत गरिन्थ्यो, अब न ढोल, मृदङ्ग नै बज्छन्, न त फागुगीत नै गुञ्जिन्छन् ।”

पहिले पहिले त गाउँको बीचमा रहेको ब्रह्मस्थानमा गाउँका सबै बसेर रातिसम्म जोगिरा गाइने गरेको बताउँदै उहाँले जोगिरा नसुनेको पनि झण्डै सात वर्षभइसकेको छ भने । वसन्तऋतुको आगमनसँगै श्रीपञ्चमीदेखि फागुपूर्णिमासम्म मिथिलाञ्चलका घर, गाउँ, टोल र छिमेकमा गाइने यस्तै माधुर्य र प्रेम भाव भएको होली गीत गाउने मानिसको अभावका कारण लोप हुँदै गएको हो । होलीमा गाइने यस्ता गीतलाई ‘जोगिरा’ भनिन्छ ।

मिथिलाञ्चलमा गाइने यसप्रकारको जोगिराले होलीपर्व खेल्नेबीच सद्भाव, माया र उत्साहका साथै ऊर्जाको सन्देश सञ्चार हुने संस्कृतिविद् किशोरी साहले बताए । उनले भने, “होलीपर्व र सङ्गीतबीच गहिरो सम्बन्ध हुन्छ । सङ्गीतविनाको होलीको परिकल्पना नै गर्न सकिँदैन । भनिन्छ होलीपर्व मनभित्र रहेको कुण्ठित विचारलाई समाप्त पार्ने पर्व हो ।”

मिथिलानगरपालिका–२ नक्टाझिज बस्ने ७० वर्षीय रामखेलावन महतोले पुख्र्यौली बाजा मृदङ्ग बजाई फागु गीत जोगिरा गाउन नपाएकामा दुःखी मनले भने,“पहिलेपहिले यस्ता फागु गीत जोगिरा वसन्तऋतुको आगमनसंँगै श्रीपञ्चमीदेखि फागुपूर्णिमासम्म गाउँगाउँ, टोलटोल घुमेर फागुपर्वको आगमन भएकाबारे गीत गाएर जानकारी दिने परम्परा थियो तर अहिले गीत गाउने बूढापाकाको कमी भएका कारण न त त्यतिमात्रामा ढोल मृदङ्ग नै बज्छ, न त फागु गीत नै गाइन्छ ।”

“यसपालीको होली नजिकै आइसक्यो, न डम्फू बज्छ न जोगिराका स्वर नै सुनिन्छन्न् ”, वर्षौंदेखि जोगिरा गाउँदै आएका क्षीरेश्वरनाथ नगरपालिका–५ महेन्द्रनगर कुचाइटोलका ७२ वर्षीय रामसागर ठाकुरले बताए । उनले भने “मेरा समूहका धेरै साथीको मृत्यु भइसक्योे, कोही बुढा भएर थलिएका छन्, अझै गाउने त रस छ, तर साथ दिने कोही छैनन् ।” वसन्त पञ्चमीसँगै होली ‘फागु’ पर्वको सन्देश छर्ने जोगिरा (फागु गीत) अब सुनिन छाडेपछि धनुषासहितका मिथिलाञ्चल क्षेत्रको यो पुरानो संस्कृति लोप हुने स्थितिमा पुगेको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार