कोभिड संकट रोकथाम तथा नियन्त्रणका लागि दुई वर्ष अघिबाट नेपाल आगमनसम्बन्धी लागू गरिएका सबै प्रावधान खारेज गर्दै नयाँ ‘ट्राभल एडभाइजरी’ जारी गरिएको छ ।
जसअनुसार अब विदेशबाट आउँदा कोरोना परीक्षणको नेगेटिभ पीसीआर रिपोर्ट वा पूर्ण मात्रामा खोप लगाएको कार्ड पेस गरे पुग्ने भएको छ । त्यस्तै विदेशबाट नेपाल आउँदा तोकिएको क्वारेन्टाइन बस्नुपर्ने प्रावधान पनि हटाइएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले १६ फागुनको मन्त्रिपरिषद् बैठकको निर्णय सरोकारवाला मन्त्रालयहरुलाई पठाएको छ । निर्णयअनुसार अब हवाई तथा स्थलमार्गबाट यात्रुहरु निर्वाध नेपाल आउन पाउने छन् ।
नेपाल आउँदा यात्रुले खोप लगाएको प्रमाणपत्र पेश गर्नुपर्ने छ । प्रमाणपत्र पेश गर्न नसक्ने यात्रुले यात्रा शुरु गर्नु अगाडि ७२ घण्टाभित्रको परिक्षणको नतिजा नेगेटिभ आएको प्रमाणपत्र देखाएमा समेत नेपाल प्रवेश पाउने छन् ।
अध्यागमन विभागका महानिर्देशक नारायणप्रसाद भट्टराईले विदेशबाट आउनेका हकमा जारी गरिएका जनस्वास्थ्यसम्बन्धी यसअघिका सबै प्रावधान खारेज गरिएको बताए ।
‘अब अन्तर्राष्ट्रिय प्रवेश बिन्दुबाट नेपाल आउँदा पूर्ण मात्राको खोप लगाएको हुनुपर्ने वा पीसीआर नेगेटिभ पेस गरे पुग्ने छ । यसबाहेक कानुनी प्रक्रिया पूरा गरेका सबैलाई प्रवेशका लागि अनुमति दिइने छ,’उनले भने ।