मोटरसाइकल चोरी गरेका आरोपमा झापाबाट ६ जना पक्राउ

काठमाडौं । झापाको विभिन्न स्थानमा मोटरसाइकल चोरी गरेको आरोपमा ६ जना पक्राउ परेका छन् ।सोमबार बिर्तामोडस्थित एभरेष्ट बैंकको पार्किङ क्षेत्रबाट मोटरसाइकले चोरी गरी भाग्दै गर्दा प्रहरीले एक जनालाई पक्राउ गरेको थियो । त्यसपछि उक्त चोरी कार्यमा सं‌लग्न गिरोहका अन्य सदस्यहरूको पहिचान भएको र सबैलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक बसन्त पाठकले बताए ।

पक्राउ पर्नेमा भद्रपुर नगरापलिका ७ का २१ वर्षीय प्रकाश सहनी, २४ वर्षीय प्रकाश दर्जी, २१ वर्षीय दीपक उराउ, २२ वर्षीय दिपेश राजवंशी, भद्रपुर नगरपालिका १ का ३० वर्षीय बिर्ख लिम्बु र भारतको किसनगं‌ज वीरखोरका मोहम्मद समिम छन् ।

प्रहरीका अनुसार पक्राउ परेकाहरुको साथबाट पाँच थान पल्सर, एकथान अपाचे र एक थान सुपर एक्स्प्लेन्डर गरी ७ थान मोटरसाइकल समेत बरामद गरिएको छ । उनीहरुलाई ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालत झापाबाट अनुमति लिइसकेको प्रहरीले बताएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार