काठमाडौं । वन डढेलोबाट निस्कने धुवाँमा कार्बन डाइअक्साइड, कार्बन मोनोअक्साइड, नाइट्रोजन अक्साइड र अन्य सूक्ष्मकणीय पदार्थ पाइन्छ जुन स्वास्थ्यका लागि हानिकारक मानिन्छ। यो धुवाँले आँखा पोल्ने तथा चिलाउने, पिरो हुने र श्वासप्रश्वासमा समस्या ल्याउने गर्छ। सन् २०१९ मा अस्ट्रेलियामा लागेको भीषण आगलागीले त्यहाँ नजिक रहेको मानिसमा ३४ प्रतिशत श्वासप्रश्वासमा असर परेको भनी अस्पतालमा भर्ना भएका थिए। यद्यपि वन डढेलोको धुवाँले लामो समयसम्म पनि असर गर्ने गरेको देखिन्छ।
नासाको मोडिस उपग्रह अन्तरिक्षबाट विश्वका सबै क्षेत्र समेट्ने गरी दैनिक दुईपटक परिक्रमा गर्छ र विभिन्न क्षेत्रमा लागेको डढेलोको पहिचान गरी सरोकारवालालाई यथाशीघ्र जानकारी गराउन मद्दत गर्छ। यसै उपग्रहबाट लिइएको जानकारीअनुसार पछिल्लो एक हप्तामा नेपालभर लगभग तेह्र हजार (सरदर प्रतिदिन करिब १९००) वटा वन डढेलो लागेको देखाउँछस जसमा बागमती प्रदेशअन्तर्गत पर्ने मकावानपुर, चितवन, सिन्धुली र धादिङमा मात्रै करिब तीन हजारवटा साना र ठूला गरी वन डढेलो लागेको छ। यो निकै चिन्ताजनक अवस्था हो। किनभने वैशाख महिनाको अन्तिमसम्म अझै डढेलो लाग्ने सम्भावना छ।
डढेलो लाग्नका लागि तीनवटा तत्वको मिलन हुन आवश्यक रहन्छ– अक्सिजन, इन्धन र तापक्रम। हिउँदसँगै बिरुवामा नयाँ पालुवा पलाउने हुँदा पुराना पात तथा हाँँगाबिगा झरी जमिनको सतहमा बाक्लो मात्रामा जम्मा भएर बसेको हुन्छ। पूर्वमनसुन वा सुक्खा समयमा तापक्रम वृद्धि हुनाले वायुमण्डलीय आपेक्ष आद्रता तथा रूखवृक्ष र सतहमा जम्मा भई बसेका पातपतिंगरको ओसमा समेत कमी आउने गर्छस जसका कारण अग्निको स्रोत पाउनासाथ डढेलोको तीव्रता बढी अनियन्त्रित रूप लिन्छ। तापक्रम र वन डढेलोको प्रत्यक्ष समानुपातिक सम्बन्ध रहन्छस जसमा सन् २००९, २०१२, २०१४ र २०१६ मा तापक्रम उच्च रहको समयमै सबैभन्दा बढी डढेलो लागेको तथ्यांकले देखाउँछ।
नेपालमा प्राकृतिक रूपमा भन्दा पनि मानवीय कारण जस्तै– खोरिया फडानी, बटुवा तथा गाडीका यात्रुबाट चुरोट र बिँडीका ठुटा लापरबाहीले फाल्दा, जंगलनजिक रहेको खेतबारी सफा गर्दा, नयाँ मुना वा घाँस पलाउने आशामा, वनभोज, हाइकिङ, पदयात्रा, क्याम्प फायरिङजस्ता मनोरञ्जनका क्रियाकलाप असावधानीका साथ सञ्चालन गर्दा तथा सहभागी हुँदा, वनमा सिकार तथा वन्यजन्तुको अवैध तस्करी गर्दा, वनसम्बन्धी कार्र्य तथा वनभित्र विभिन्न विकास निर्माणका कार्यमा कामदारको लापरबाहीले र कहिलेकाहीं रिसइबी, बदला तथा प्रतिशोधको भावनाले समेत वनमा आगो लगाउने कार्य भएको पाइन्छ। वन ऐन २०७६ ले यी कार्यलाई फौजदारी अपराधस्वरूप मान्यता दिए पनि सोको कार्यान्वयन भने फितलो रहेको छ। समयमा नियमावली तयार नहुँदा पनि यो समस्या झन् जटिल भएको छ। यसको अर्को समस्या फिल्ड स्तरमा भन्ने हो भने आगो लगाउने व्यक्ति वा सहयोगी पहिचान गर्न नसक्नु हो। यसरी एउटा वन डढेलोले असंख्य क्षति हुँदा पनि अपराधी पहिचान र कारबाही नहुनु भनेको आम मानिसमा जे गरे पनि हुन्छ भन्ने मनोवैज्ञानिक भाव वृद्धि हुन जानु होस जसको अन्तिम परिणाम वन डढेलोमा वृद्धि र सोबाट हुने असंख्य क्षति नै हो।
भिडियो