काठमाडौं । न्युटन रुख भनेर विश्वभरी परिचित रुख ढलेको छ । आइज्याक न्युटनले जुन रूखबाट स्याउ खस्दै गरेको देखेर गुरूत्वाकर्षण सिद्धान्त पत्ता लगाए भनिन्छ, त्यो रूख दुईसाता अघि ढलेको हो । उक्त रुख बेलायतको लिंकनसायरस्थित वुल्सथोर्प म्यानर हाउसमा थियो। यो न्युटनको जन्मघर हो जुन अहिले सरकारी स्वामित्वमा छ। त्यो रूखलाई मान्छेहरू न्युटनको रूख भनेर चिन्थे।
न्युटनको यही रूख बेलायतको क्याम्ब्रिज विश्वविद्यालयको बगैंचामा पनि थियो। एकै रूख कसरी दुईतिर भयो भनेर नझुक्किनु होला। न्युटनको घरमा भएको रूखबाटै क्लोनिङ गरेर अर्को रूख बनाइएको थियो। क्लोनिङ गरेर बनाइएको नयाँ रूखलाई नै क्याम्ब्रिज विश्वविद्यालयको बगैंचामा सारियो। कुनै पनि प्राणी वा वनस्पतिको डिएनएबाट अर्को त्यस्तै प्राणी वा वनस्पति निकाल्नुलाई क्लोनिङ भनिन्छ। वैज्ञानिकहरूले मूल रूखबाट बनाइएको नयाँ रूखलाई पनि ुन्युटनको रूखु भनेरै नामकरण गरेका थिए।
बिबिसीका अनुसार यो नयाँ रूख सन् १९८४ मा क्याम्ब्रिज विश्वविद्यालयको बोटानिक गार्डेनमा रोपिएको थियो। कति बर्खा, हावाहुन्डरी, चट्याङ र आँधी सहेर ६८ वर्षदेखि यो रूख बगैंचाको प्रवेशद्वारमा उभिएर शोभा बढाइरहेको थियो।
गत फेब्रुअरी २१ मा भने एक्कासि सोच्दै नसोचेको घटना भयो। न्युटनको त्यो रूख ढल्यो। बगैंचाका स्याहारकर्ता डाक्टर सामुअल ब्रोकिङटनका अनुसार तीव्र तूफानका कारण त्यो रूख ढलेको हो। इयुनिस नामको तूफान त्यो साताको शक्तिशाली तूफानमध्ये एक थियो जसका अगाडि न्युटनको रूखको जोर चलेन। जरैसमेत उखेलिएर ढल्यो।