काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीविरुद्ध निर्वाचन आयोग लागेको आरोप लगाएका छन् । मोरङको रंगेलीमा आयोजित सार्वजनिक सभालाई सम्बोधन गर्दै ओलीले यस्तो बताएका हुन् ।
उनले काँग्रेस बचाउनकै लागि निर्वाचन आयोगले मतपत्र हरियो बनाउन लागेको आरोप लगाएका छन् । ‘अब काँग्रेसमा लागेर केही काम छैन । काँग्रेस बिस्तारै बिस्तारै बुढो हुँदैछ । बुढो रुख बचाउन निर्वाचन आयोगले चुनाव चिन्ह सबै हरियो बनायो,’ ओलीले भने, ‘चुनाव चिन्ह हरियो हुँदा काँग्रेस बौरिँदैन ।’
उनले चुनाव चिन्ह हरियो राख्न नहुनेमा जोड दिए । माओवादी केन्द्रबाट निर्वाचित रंगेलीका प्रमुख दिलिपकुमार बगडिया र उपप्रमुख केशवकुमारी खराललगायतलाई पार्टी प्रवेश गराएपछि ओली काँग्रेसको आलोचनामा खनिएका थिए । ‘काँग्रेससँग देश बनाउने, नीति पनि छैन, विचार पनि छैन,’ उनले भने, ‘काँग्रेस एमालेको विरुद्धमा जान सक्दैन, अब काँग्रेसको दाँत मात्रै झरेको होइन रुखै सुकिसकेको छ ।’
उनले आफू प्रधानमन्त्री हुँदा दशकौँसम्म बन्न नसकेको काम भएको दाबी गरे । ‘दशकौँसम्म बन्न नसकेको नेपाल नेकपा एमालेको सरकार हुँदा तीन वर्षमा असाधारण काम अगाडि बढेको छ,’ ओलीले भने । ओलीले आफूले संसद् विघटन काम गर्न नदिएको कारण गरेको बताए ।