काठमाडौं । इन्जिनियरहरुको संस्था नेपाल इन्जिनियर्स एसोसिएसनमा पाँच समूहले प्रतिस्पर्धा गर्ने भएका छन् । ३२ औं केन्द्रीय कार्यकारिणीका लागि दुई प्यानलमा मात्रै भिडेका इन्जिनियरहरु ३३ औंमा आइपुग्दा पाँच प्यानल बनाएर प्रतिस्पर्धा गर्ने भएका हुन् ।नेपाल इन्जिनियर्स एसोसिएसनको कार्यकारिणी समितिको निर्वाचन शुक्रबार हुँदै छ ।
सत्ता गठबन्धनको नेतृत्वकर्ता दल नेपाली कांग्रेस निकट इन्जिनियरहरुको संस्था सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्स (सिडेन) दुई चिरा भएको छ । फागुन २७ बाट हुने नेपाल इन्जिनियर्स एसोसिएसनको (नेएइ) निर्वाचनमा कांग्रेसको शुभेच्छुक संस्था सिडेनका दुई प्यानलले प्रतिस्पर्धा गर्ने भएका छन् ।
पार्टीको आधिकारिक उम्मेदवारको अध्यक्षमा डा. हरिबहादुर दर्लामीलाई अघि सारिएको छ । अर्को प्यानलबाट बनाएका दिलीप कुमार झाले भने आफ्नो समूह नै आधिकारिक भएको दाबी गरेका छन् ।
पुल्चोक इन्जिनियरिङ क्याम्पसका सह प्राध्यापक समेत रहेका अध्यक्षको उम्मेदवार दर्लामीको प्यानलको उपाध्यक्षमा डा।नारायणप्रसाद अधिकारी, महासचिवमा रविभूषण झा, उपमहासचिवमा सरोज धिताल, कोषाध्यक्षमा दिनेश त्रिपाठी र सहकोषाध्यक्षमा दीपक अधिकारी प्रतिस्पर्धा गर्ने भएका छन् ।