प्रचण्डलाई भेट्न खुमलटार पुगिन् चिनियाँ राजदूत यान्छी

काठमाडौं । नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र चिनियाँ राजदूत होउ यान्छीबीच भेटवार्ता भएको छ। राजदूत यान्छी प्रचण्ड भेट्न बुधबार बिहान खुमलटार पुगेकी थिइन्।

प्रचण्ड र राजदूत यान्छीबीच चीनका विदेश मन्त्री वाङ यीको नेपाल भ्रमणका विषय लगायत पछिल्लो राजनीतिक अवस्थाबारे कुराकानी भएको स्रोतले जानकारी दिएको छ।पछिल्लो समय नेपालमा अमेरिकी सहयोग परियोजना एमसिसी पास गर्न बेलामा चीनले सार्वजनिक रूपमै टिप्पणी गरेको थियो।

परराष्ट्र मन्त्रालय स्रोतका अनुसार अहिले वाङको भ्रमणको तयारी भइरहेको छ। यसअघि सोमबार परराष्ट्र मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा परराष्ट्र मन्त्री नारायण खड्काले नेपालमा उच्चस्तरीय भ्रमण हुन लागेको बताएका थिए।उनले कसको भ्रमण हुन लागेको हो भन्नेबारे जानकारी दिएका थिएनन्।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार