सिद्धबाबाको मुद्दाको आज सुनुवाइ हुँदै

बलात्कारको आरोप लागेका सिद्धबाबा भनिने कृष्णबहादुर गिरीको मुद्धाको आज सुनवाई हुदैँछ । गिरी विरुद्धको जबरजस्ती करणीको मुद्दामा उच्च अदालत विराटनगरले (आज) बुधबार सुनुवाइ गर्ने भएको हो । अदालतका अनुसार ५ नम्बर इजलासमा मुद्दाको सुनुवाइ हुनेछ ।

सोलुखुम्बुको दूधकौशिका गाउँपालिका–४ घर भई सुनसरीको बराहक्षेत्र–१, चतरा बस्ने गिरीमाथि उनकै एक अनुयायी महिलालाई बलात्कार गरेको अभियोग लागेको थियो ।

४ कात्तिक २०७६ मा बराहक्षेत्र–१ स्थित गुरुकुलमा भेट गर्न गएकी आफूलाई बलात्कार गरेको भन्दै पीडित महिलाले गिरीविरुद्ध ८ मंसीर २०७६ मा किटानी जाहेरी दिएकी थिइन् । प्रहरीले १६ मंसीरमा पक्राउ गरी गिरी विरूद्ध १० पुसमा जिल्ला अदालत सुनसरीमा मुद्दा दायर गरेको थियो।

तर, जिल्ला न्यायाधीश राधाकृष्ण उप्रेतीले १४ पुसमा गिरीलाई तीन लाख धरौटीमा तारेखमा राख्न आदेश दिएका थिए। गिरीलाई ७ देखि १० वर्ष कैद सजाय र पीडितलाई क्षतिपूर्तिको माग गरिएको थियो। १६ मंसीरमा पक्राउ परेपछि नै गिरी आफू मुटु रोगी भएको बहाना बनाई हिरासत छल्न अस्पताल बसेका थिए। जिल्ला अदालतको आदेशविरूद्ध सरकारी वकीलको कार्यालयले गिरीलाई थुनामै राख्नुपर्ने मागसहित र गिरीले आफूसँग रू ३ लाख धरौटी माग्न नमिल्ने मागसहित उच्च अदालतमा निवेदन दिएका थिए। तर, उच्च अदालतले धरौटीमा राख्ने जिल्ला अदालतको आदेश उल्टाउँदै गिरीलाई थुनामै राखेर मुद्दाको पुर्पक्ष गर्न आदेश दिएको थियो।

त्यसविरूद्ध गिरी सर्वोच्च अदालत आएका थिए। सर्वोच्च अदालतले १२ मंसीर २०७७ मा गिरीलाई थुनामुक्त गर्न निमल्ने आदेश गरेको थियो। सर्वोच्चको आदेश आएको दुई सातामै जिल्ला अदालतले गिरीलाई सफाइ दिने फैसला गरेको थियो ।

त्यसलगत्तै गिरीले पनि जिल्ला अदालतको फैसलाले आफ्नो ब्रम्हचर्य तोडिदिएको भन्दै सफाइको मागसहित अर्को मुद्दा दर्ता गराएका छन् । दुवै मुद्दालाई एकै ठाउँमा राखेर अदालतले सुनुवाइ गरिरहेको छ । सम्भवतः बुधबार नै फैसला आउन सक्ने छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार