भारतको हेपाय प्रवृति : महाकालीमा स्काभेटर चलायो, नेपालीले हाने ढुंगा

काठमाडौं । दार्चुलाको सदरमुकाम खलंगास्थित महाकाली नदी क्षेत्रमा भारतको ज्यादती बढेको स्थानीयले गुनासो गरेका छन् । यो क्षेत्रमा भारतले पहिलेदेखि नै नेपाली नागरिकलाई विभिन्न तरिकाले दुःख दिँदै आएको छ ।

मंगलबार उक्त क्षेत्रमा भारतीय पक्षले अर्को ज्यादती देखायो । मंगलबार दिउँसो भारतीय पक्षले नेपालको क्षेत्रमा पर्ने महाकाली नदीमा स्काभेटर चलाएको छ। तटबन्ध निर्माण गरिरहेको भन्दै भारतीयले नेपाली नदी क्षेत्रमा स्काभेटर चलाएको जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको छ। भारतीय स्काभेटर नेपाली नदी क्षेत्रमा आएपछि स्थानीयले विरोध गरेका थिए ।

महाकालीको धार सदरमुकाम खलंगातिर धकेलिने गरी भारतले महाकाली नगरपालिका–४ स्थित नदीमा स्काभेटर चलाएपछि ढुंगा हानाहान भएको प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले बताए। नेपाली प्रशासनसँग समन्वय नै नगरी भारतले तटबन्ध निर्माण गरिरहेको उनले बताए। नेपाली भूभागबाट ढुंगा उत्खनन् समेत गरेको उनको भनाइ छ।

यसै क्रममा सो क्षेत्रमा नेपाल र भारतका स्थानीयबीच ढुंगा हानाहानसमेत भएको बताइएको छ। भारतीय पक्षले नेपालतर्फ नदीको धार फर्काएपछि स्थानीयबीच विवाद शुरु भएको थियो। दार्चुला प्रशासनसँग समन्वय नै नगरी भारतले एकपक्षीय तरिकाले महाकालीमा स्काभेटर चलाएर धार परिवर्तन गरेपछि दुवै देशका नागरिकबीच ढुंगा हानाहान भएको हो।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार