नागार्जुनमा एकै परिवारका ५ जनाले विष सेवन गर्नुको कारण आर्थिक तनाव

काठमाडौँको नागार्जुन नगरपालिका–६, डाडापौवामा एकै परिवारका ५ जनाले विष सेवन गरेको घटनामा आर्थिक कारण जोडिएको पाइएको छ ।

घटनास्थलबाट प्रहरीले फेला पारेको सुसाइड नोटबाट आर्थिक तनावका कारण परिवारै आत्महत्या गर्ने स्थितिमा पुगेको खुलेको हो । यद्यपी अनुसन्धान जारी रहेकाले आर्थिक कारण मात्रै हो वा अन्य कारण पनि छन् अहिले नै भन्न सकिने अवस्था नरहेको प्रहरीले जनाएको छ ।

महानगरीय प्रहरी परिसर काठमाडौंमा प्रवक्ता एसपी दिनेशराज मैनालीले घटनास्थलमा ‘सुसाइड नोट’ भेटिएको बताए । ‘घटनाको कारणभन्दा एउटा फाइनान्सियल कज छ । अर्को रोगको कुरा पनि आएको छ,’ उनले भने, ‘स्थानीय प्रहरीले अनुसन्धान गरिरहेको छ । मुख्यतः फाइनान्सियल क्राइसिस देखिएको छ । रोगका सम्बन्धमा औषधि खाइरहेको देखिएको छ । लामो समयदेखि उपचार गरिरहेको देखिएको छ । प्रहरीले विस्तारै कारण पहिल्याउँदैछ ।’

डल्लुमा आफ्नै घर भए पनि उनीहरु डाँडापौवामा डा. बुद्ध पुरीको घरमा भाडामा बस्दै आएका थिए । सोमबार राति ९ बजेतिर प्रधानको परिवारका ५ जना अर्धबेहोसी अवस्थामा भेटिएका थिए । तीमध्ये ३३ वर्षीय सुर्वणमान प्रधानको मनमोहन मेमोरियल अस्पताल, स्वयम्भुमा उपचारका क्रममा मृत्यु भएको प्रवक्ता एसपी मैनालीले बताए । घटनास्थलमा विषादीको बोतल र सुसाइड नोट भेटिएको थियो ।

घटनामा गम्भीर घाइते ६२ वर्षीया इन्दिरामाया प्रधान, ३८ वर्षीया भीममान प्रधान, ३५ वर्षीया मन्दिरा प्रधान र ११ वर्षीया सुप्रिया प्रधानको अवस्था गम्भीर छ । घटनास्थलबाट चार किसिमका किटनाशक औषधिको पाकेट बरामद भएको मैनालीले बताए ।

सुसाइड नोटको विषयमा चाहिँ अनुसन्धान भइरहेको उनको भनाइ छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार