पल शाहलाई गैँडाकोट लगिँदै

बाल गायिकामाथि जबरजस्ती करणी गरेको आरोपमा तनहुँ प्रहरीको हिरासतमा रहेका अभिनेता पल शाहलाई बयानका लागि गैंडाकोट लगिने भएको छ ।

फागुन ११ गते एक नावालिका गायिकाले शाहले आफूमाथि जवर्जस्ती करणी गरेको भन्दै जाहेरी दर्ता गरेपछि ४ दिनपछि अर्थात् फागुन १५ गते प्रहरीसामु आत्मसमर्पण गरेका पल अहिले तनहुँ प्रहरीको हिरासतमा छन् ।

१७ वर्षीया ती किशोरीले गत फागुन ११ गते शाहले प्रेम र मायाको झुटो आश्वासनमा पटक–पटक बलात्कार र यौन दुर्व्यवहार गरेको भन्दै जिल्ला प्रहरी कार्यालय तनहुँमा जाहेरी दिएकी थिइन् । जाहेरीपछि केही दिन भूमिगत भएका शाह चार दिनपछि प्रहरीकहाँ पुगेका थिए।

१५ गते तनहुँ प्रहरी समक्ष आत्मसर्पण गरेका शाहकाविरुद्ध सोही दिन नै इलाका प्रहरी कार्यालय गैंडाकोटमा पनि जाहेरी दर्ता भएको थियो । सोही मुद्दाको बयानका लागि शाहलाई आज तनहुँबाट गैंडाकोट लाने तयारी भइरहेको तनहुँ प्रहरी स्रोतले बताएकाे छ ।

इलाका प्रहरी कार्यालय गैंडाकोटमा ती बालिकाले दर्ता गरेको जाहेरीमा २०७७ चैत ७ गते राति गैंडाकोट नगरपालिका–७ स्थित गैंडाकोट रिसोर्टमा बलात्कार गरेको उल्लेख छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार