भेडीगोठदेखि सिंहदरबारसम्म थमसरा पुन

‘म अहिले जे छु, यो अवस्थामा आउन धेरै संघर्ष गरेको छु । अवसरहरू सजिलै पाए पनि अवसर पाउने बेलासम्म आइपुग्न धेरै मिहेनत गरेँ,’ म्याग्दीकाे धवलागिरी गाउँपालिका अध्यक्ष थमसरा पुन आफ्नाे विगत सम्झिन्छिन् । संघर्षबाट खारिएकी नेताकाे परिचय बनाएकी उनी बाल्यकालदेखि नै कठिन संघर्षकाे यात्रा तय गरेर गाउँपालिकाकाे जिम्मेवारी सम्हाल्ने अवस्थामा आइपुगेकाे बताउँछिन् ।

‘दुर्गम गाउँको मगरको छोरी, १५ वर्ष नपुग्दै टिपेर लाहुरेलाई दिने संस्कार अहिले पनि छ । रोधी बस्ने चलन हटेको छैन,’ आफ्नो बाल्यकाल सम्झिँदै उनले भनिन्, ‘कम्ता दु:ख व्यहाेर्नुपरेन । गाह्रो त कति भयो भयाे, भनिसाध्य छैन । आफ्नो कर्म र भाग्यले गर्दा यहाँसम्म आएँ होला भन्ने लाग्छ ।’

उनले उमेर ढल्केपछि उच्च शिक्षा प्राप्त गरिन् । १२ वर्ष हुँदा गाउँकै स्कुलबाट कक्षा ५  सकेकी उनलाई गाउँमा त्योभन्दा माथि पढ्न नपाए पनि अर्को गाउँमा जान अभिभावकले दिएनन् । घरको एउटै छोरी भएकोले पनि बाबुआमाले धेरै प्यारमा हुर्काए । तर, उनले आफ्नो जिन्दगी सधैँ अँध्यारो देखिन् । जसको जग्गा जमिन धेरै छ, भेडाबाख्राको बगाल ठूलो छ, उही सम्पन्नशाली मान्ने समाजकी थमसरा २४ वर्षसम्म भेडीगोठ र गाईभैंसीको पछि लागेरै बिताइन् ।

‘गृहणीजस्तै भएर बिताएँ । अर्को स्कुलमा गयो भने त उतैबाट जात नमिल्ने केटोसँग बिहे गरेर जान्छे भनेर पढ्न पठाउनुभएन,’ उनी भन्छिन्, ‘२४ वर्ष लागेपछि फेरि पढ्नुपर्छ भन्ने लाग्यो । म कक्षा ८ मा भर्ना हुन गएँ । एक महिना पढेर परीक्षा दिएँ । त्यसपछि कक्षा ९ र टेष्ट सजिलै पास भएँ । एसएलसीमा विषय लाग्यो । अनि कक्षा ९ मै भर्ना भएर फेरि एसएलसी दिएँ, सजिलै पास भएँ ।’

थमसराको पढाइ यतिमा मात्रै रोकिएन । त्यसपछि उनी अहेब पढ्न गइन् । फर्केर एक वर्ष फेरि गाउँकै प्रोजेक्टमा काम गरिन् । उमेर र अनुभवले होला, उनले आफ्नो जिम्मेवारी सजिलै पूरा गरिन् । सबैसँग घुलमिल भइन् र गाउँको विकासमा जुटिन् । उनलाई लाग्यो, ‘क्षमता भएन भने सानै पदमा काम गरेर जिन्दगी बित्ने रहेछ ।’

त्यसपछि इन्टर पढ्न उनी काठमाडौंको पद्मकन्या क्याम्पसमा भर्ना भइन् । सजिलै पास गरिन्, स्नातक तह बागलुङ क्याम्पसबाट पूरा गरिन् । त्यतिबेलासम्म थमसरा गाउँकै स्कुलको शिक्षिका भइसकेकी थिइन् । अब उनको जिम्मेवारी अझै बढ्यो, गाउँले भेला भएर उनलाई प्रधानध्यापक बनाइदिए । स्नातक सकिँदा उनी अखिल नेपाल महिला संघको जिल्ला अध्यक्षको रुपमा निर्वाचित भइन् । ‘दुई दिन हिँडेर जिल्ला जानुपर्थ्याे। स्कुलको जिम्मा पाएपछि सधैँ गइरहन पनि पाइँन। स्कुल सोचेभन्दा राम्रो भयो, अनेमसंघ र डिग्री राम्रो भएन,’ उनले थपिन्, ‘डिग्री चाहिँ बल्लबल्ल अध्यक्ष भएपछि पास गरेको हुँ ।’

उनी अहिले नेकपा एमालेको जिल्ला उपसचिवको रूपमा कार्यरत छिन् । ‘मलाई पदको लोप छैन । पार्टीमा जिम्मेवारी पाएँ, सरकार सम्हाल्ने जिम्मेवारी पाएँ । शिक्षक हुँदा पनि प्रअ भएर काम गरेको हुँ । कुनै पनि पद मैले अड्डी कसेर पाएको हैन,’ थमसराले थपिन्, ‘अब पनि ठूलो अपेक्षा छैन । कुनै बेला पार्टीको मत संरक्षण गर्नुपर्ने भयो भनेर प्रयोगमा आएँ, कुनै बेला सामाजिक परिचालकको क्षमता छ भनेर जिम्मेवारी दिए । अब पनि पार्टीले यहाँ उपयुक्त छस् भनेर दियो भने काम गर्ने हिम्मत छ ।’

२०५४ सालमा वडा सदस्य बन्दा उनले राजनीति गरुँला र यति ठूलो पदमा पुगुँला भन्ने सोचेकी पनि थिइँनन् । अहिले देशभरका ७५३ स्थानीय तहमध्ये १८ वटा स्थानीय तहमा महिला प्रमुख छन् । गण्डकी प्रदेशमा चार जना मात्र महिला प्रमुख छन् । गण्डकीका चारै जना महिला प्रमुखले पुरुषलाई चुनावमा हराएका हुन् । थमसरा तिनै मध्येका उदाहरणीय अध्यक्ष हुन् । ‘सजिलो त पक्कै थिएन । चुनौतीको पनि कुरै छोडौं, केन्द्र विवाददेखि जनतालाई चाहिने कार्यालय र पूर्वाधार थिएन । यस्तो बेला सरकार चलाउन त सजिलो छँदै छैन । दु:खबाटै पाँच वर्ष बित्यो,’ उत्तरार्द्ध पुग्दै गर्दा उनले आफ्नो अनुभव यसरी सुनाइन्, ‘मैले चुनौती र अवसर दुवै हिसावले लिएँ । त्यहि काम पुरुषले गर्न नसक्दा विचरा गर्न सकेन भन्छन् । त्यहि प्रकृतिको काम महिलाको ठाउँमा भए महिला त हो, के गर्न सक्थी भनेर आलोचना गर्छन् ।’

आफ्नो अगाडि कसैले विभेदको स्वर ननिकाले पनि व्यवहारबाट धेरै पटक विभेद व्यहोरेको उनको अनुभव छ । ‘पार्टीभित्र र विभिन्न सरोकारवाला निकायबीचमा पनि महिलालाई हेर्ने दृष्टीकोण र विश्वास गर्ने वातावरण फरक भयो । पुरुष नेताहरू स्वभावैले कार्यकर्तासँग बसेर खाइपिइ गर्छन् । रातको बेला पनि गइदिने र रमाइलो गरिदिने गर्छन् । उधारो भए पनि सहयोग गर्छन्,’ उनले भनिन्, ‘मैले त्यसो गर्न सकिनँ । महिला भएपछि पैसा खर्च गर्न सक्दिनँ, कार्यकर्तासँग सामिप्यता हुँदैन भन्छन् । माथिल्लो तहको कर्मचारीसँग नेताहरूले गेट टुगेदर गर्नुपर्छभन्दा रहेछन् । मैले त्यो गर्न सकिनँ । फेस टू फेस त मैले विभेद भोगिनँ । तर, म महिला भएर यसरी हेरेको होला कि भन्ने महसुस भने गरें ।’

माथिल्ला सरकारबाट पर्याप्त सहयोग नपाएको उनको गुनासो छ । ‘माथिल्ला सरकारले धेरै बेवास्ता गर्‍यो । कर्मचारी सरुवा भएर गएपछि पठाउन ढिलो गर्ने । धेरै धाउनुपर्ने । नेतालाई नै गुहार्नै पर्ने भयो । अनुदान र बजेट ल्याउन पनि साह्रै गाह्रो भयो । पठाए पनि थोरै पठाइदिए,’ थमसरा भन्छिन्, ‘अरु पालिका सानो र कम जनसंख्या हुँदा पनि संघ र प्रदेशको बजेट खात लाग्थ्यो । तर, मैले सानो बजेट माग गर्दा पनि दौडधुप धेरै गरें ।’

जति काम गरे पनि नेपालका जनताहरू सत्ताको विपक्षमा हुने भएकोले आलोचना धेरै सहेको उनको अनुभव छ । चुनौतीकै चाङबाट आफूले पालिकाभित्र केही आशालाग्दा र नागरिकले सम्झन लायक काम गरेको दाबी गर्छिन्, थमसरा । ‘म निर्वाचित भएको बेला विद्युत् प्रशारण लाइन सिमानासम्म पनि पुगेको थिएन । अहिले केन्द्रीय प्रशारण लाइन, माईक्रो हाईड्रो र सोलार गरेर उज्यालो पालिका घोषणा गर्ने बेला भएको थियो । तर, अघिल्लो वर्षको बाढीपहिरोले अवरोध भयो । हाम्रो पालिकामा सडक कालाेपत्रे र ढलान त सम्भव थिएन । वर्षमा ८ महिना भए पनि गाडी चलाउने बाचा जनतासँग गरेका थियौं । मैले त्यो पूरा गरेको छु,’ उनले थपिन्, ‘शिक्षा क्षेत्रमा व्यापक सुधार ल्याएका छौं । हाम्रो पालिका सामान्य सिटामोलका लागि पनि २-३ घण्टा हिँडेर जानुपर्ने बाध्यता भएको गाउँहरूले भरिएका छन् । त्यहाँ जनसंख्याको आधारमा सामुदायिक स्वास्थ्य इकाई स्थापना गरेका छौँ । औषधि र कर्मचारीको व्यवस्था गरेका छौँ । सामान्य बालविकासको शिक्षा पाउन पनि घण्टौं लगाएर जानुपर्ने अवस्था छ । त्यस्ता बालबालिकालाई आवासीय विद्यालय चलाएका छौं । यो धेरैपछि नागरिकहरुले सम्झने छन् ।’

नियमित काममै अलमल भइरहेको बेला दुई वर्षअघिको बर्खामा धवलागिरी थिलथिलो हुने गरी बाढी र पहिरोले सकस पार्‍यो । नागरिकका घरहरू ढले । तर, थमसरा विचलित नभई नागरिकलाई अभिभावकीय छहारी दिइरहिन् । ‘पहिलो चरणमा ५९ घर सूचिकृत गरेका थियौं । १४ घर मोनाले बनाइदियो । बाँकी घर पालिकाले स्टिमेट गरेर बनाइरहेको छ । उनीहरूले तेस्राे किस्ता पाउँदैछन्,’ थमसराले भनिन्, ‘धेरै जसोले घर बनाएर बसिसकेका छन् ।’

यसबाहेक गाउँपालिकाको प्रशासनिक भवनका लागि प्रक्रिया अघि बढिसकेको छ । १४ रोपनी जग्गा प्राप्त गरेर डीपीआर निर्माण भइसकेको उनले सुनाइन् । सोही ठाउँमा १३ करोडको लागतमा भवन निर्माण प्रक्रियाअघि बढेको छ । यद्यपि, थमसराले पालिका केन्द्र विवादको मुद्दा खेपिरहेकी छिन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार