फरक मत राख्‍ने श्रेष्ठ र पोखरेललाई चुनावी कमाण्डरको जिम्मेवारी

काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले ५० जना सदस्यलाई केन्द्रीय सदस्यमा मनोनित गरेको छ । काठमाडौंमा सोमबार बसेको माओवादी केन्द्रीय समिति बैठकले पार्टी अध्यक्ष प्रचण्डले प्रस्ताव गरेको ९७ जना मध्ये ५० जनालाई मात्र केन्द्रीय सदस्यमा मनोनित गरेको हो । बैठकमा अन्य नाममा भने सहमति जुट्न नसकेको नेताहरुले जनाएका छन् ।

हाल केन्द्रीय सदस्य संख्या २९७ जना मात्रै हुने र बाँकी पछि थपिने माओवादीले जनाएको छ । त्यस्तै माओवादीमा २५ प्रतिशत बैकल्पिक केन्द्रीय सदस्य रहने व्यवस्था गरेको छ । पदाधिकारी, स्थायी समिति र पोलिटब्युरो गठन अर्को बैठकबाट गर्ने निर्णय गरेको नेता बर्षमान पुनले जानकारी दिए ।

बैठकले प्रदेश इन्चार्जको जिम्मेवारी तोकेको माओवादी नेता जनार्दश शर्माले जानकारी दिए । त्यस्तै एमसीसीका बिषयमा आगामी जेष्ठ २० गते बस्ने बैठकमा थप छलफल हुने उनले बताए । त्यस्तै माओवादीले स्थानीय तहमा चुनावी तालमेलका लागि एक कार्यदल बनाउने निर्णय समेत गरेको छ ।

यस्तै नेकपा माओवादी केन्द्रले स्थानीय निर्वाचन लक्षित गरेर चुनावी कमाण्डर तोकेको छ। काठमाडौंमा बसेको केन्द्रीय कमिटी बैठकले प्रदेशसहित विशेष क्षेत्रमा कमान्डर तोकेको हो। बैठकले एमसीसीका विषयमा फरक मत राख्दै आएका नारायणकाजी श्रेष्ठ र लिलामणि पोखरेललाई समेत जिम्मेवादरी तोकेको छ।श्रेष्ठलाई विभिन्न मोर्चाहरुको जिम्मेवारी तोकिएको छ भने पोखरेललाई उपत्यका विदेश समन्वय प्रदेशको जिम्मेवारी दिइएको छ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार