सखुवाप्रसौनी गाउँपालिका अध्यक्ष र उपाध्यक्षबीच कुटाकुट

उपाध्यक्षले अध्यक्षलाई चप्पलले हिर्काइन

काठमाडौं । पर्साको सखुवाप्रसौनी गाउँपालिकाका अध्यक्ष प्रदीप जैसवाल र उपाध्यक्ष फलुमति देवी चौधरीबीच कुटाकुट भएको छ । विकास निर्माण र गाउँपालिकाको ८ औं गाउँसभाबारेमा विवाद हुँदा उनीबिच कुटाकुट भएको हो ।

उपाध्यक्ष चौधरीले विकास निर्माण र गाउँपालिकाको ८ औं गाउँसभाबारे जानकारी माग्दा अध्यक्षसहित वडाअध्यक्षको समूहले हातपात गरेको आरोप लगाएकी छन् ।

अध्यक्ष जैसवालले भने सामान्य वादविवाद हुँदा उपाध्यक्षले नै आफूमाथि पानीको बोत्तल हिर्काइ दुर्व्यवहार गरेको दाबी गरेका छन् । जैसवालले सोमबार नेपाल पत्रकार महासंघ पर्साको सभाकक्षमा पत्रकार सम्मेलनको आयोजन गरी उपाध्यक्षले दुर्व्यवहार गरेको बताए । यसअघि उपाध्यक्ष चौधरीले अध्यक्षसहितको समूहले आफूलाई आइतबार कुटपिट र दुर्व्यवहार गरेको आरोप लगाएकी थिइन् ।

कुटपिटले चोटपटक र डाम बसेको उनको दाबी छ । अध्यक्षका अनुसार आइतबार करिब साढे ३ बजे गाउँपालिका कार्यालयको आफ्नो कार्यकक्षमा पुग्दा उपाध्यक्ष लगायत ५ जना वडाध्यक्ष बसिरहेका थिए ।

गाउँपालिकाका अन्य कर्मचारीहरूका अनुसार उपाध्यक्षले अध्यक्षलाई चप्पलले समेत हिर्काएकी थिइन् । जुन सीसीटीभी क्यामेरामा कैद भएको उनीहरू बताउँछन् । दुर्व्यवहार गरेपछि उपाध्यक्षका भाइ र वडा ५ का अध्यक्षले उनको हात समाएर कार्यकइ बाहिर निकालेको अध्यक्षले बताए । साथै कार्यकक्षमा सीसीटीभी जडान भएको कुरा उपाध्यक्षले याद गरेको भए यस्तो गलत आरोप नलगाउने अध्यक्ष बताउँछन् ।

उपाध्यक्ष चौधरीले अध्यक्षले अपशब्द प्रयोग गरेपछि आफू बाध्य भएर चप्पल उठाउनु परेको बताउँछिन् । उनका अनुसार आइतबार कार्यकक्षमा अध्यक्ष आएपछि नमस्कार गरी उनी बाहिर निस्किन लागेकी थिइन् ।

तर, वडाध्यक्षहरुले बस्न आग्रह गरेका थिए । ‘गुपचुप रुपमा गाउँसभा गर्नुभयो, मेरो अधिकारबाट मलाई बञ्चित राख्नुभयो, किन त्यस्तो गर्नुभयो भनेर अध्यक्षलाई सोधेँ,’ उपाध्यक्ष चौधरीले भनिन्, ‘अध्यक्षले मलाई थाहा छैन भने । मैले फेरि सोधेँ अनि अध्यक्षले गाली गर्न थाले । गाली नगर्नुस् भनी आग्रह गर्दा अपशब्द बोल्न थोले अनि बाध्य भएर चप्पल उठाएँ ।’ अध्यक्षकै निर्देशनमा वडाध्यक्ष लगायतको समूहले आफूलाई एउटा कोठामा चुकुल लगाएर केही समय थुनेको पनि उनले बताएकी छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार