स्थानीय तहको चुनावमा एकीकृत समाजवादीले ठूलो सफलता हात पार्छ : नेपाल

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आसन्न स्थानीय तह चुनावमा आफ्नो पार्टीले ठूलो सफलता प्राप्त गर्ने दाबी गरेका छन् ।

रामेछाप जिल्लाबाट विभिन्न पार्टी परित्याग गरी एकीकृत समाजवादीमा प्रवेश गर्नेहरूलाई आज सोमवार काठमाण्डौमा स्वागत गर्दै अध्यक्ष नेपालले आसन्न स्थानीय तह चुनावमा अन्य पार्टीहरूसँग तालमेल गरी ठूलो सफलता हात पार्ने बताएका हुन् । पार्टीले आउँदो चुनावमा केन्द्रित भएर टोल–टोलमा सङ्गठन विस्तार र परिचालनमा लागेको पनि उनले बताए ।

अध्यक्ष नेपालले भने, ‘हामी आउँदो चुनावको तयारीलाई केन्द्रविन्दुमा राखेर वडा, टोल–टोलमा पनि पार्टीको कमिटी विस्तार गर्दै जानेछौँ । जो–जोसँग हाम्रो तालमेल मिल्नेछ, तालमेल गरेर हामी चुनावमा अत्यधिक ठूलो सफलता हासिल गर्ने विश्वासका साथ जुटिरहेका छौँ ।’

यसैबीच नेकपा (एकीकृत समाजवादी)को पोलिटब्युरोको पहिलो बैठक आज नै काठमाण्डौमा रहेको एक ब्याङ्क्वेटमा सुरु भएको छ । पोलिटब्युरो बैठकमा अध्यक्ष नेपालले समसामयिक राजनीतिक परिस्थिति र पार्टीको आउँदो कार्ययोजनासहितको राजनीतिक प्रतिवेदन प्रस्तुत गरेको पार्टीका उपमहासचिव तथा प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए । बैठकले २५ गते बस्ने केन्द्रीय कमिटी बैठकको एजेन्डा तय गर्ने उनले बताए ।

प्रवक्ता खतिवडाले कार्यकर्ताहरूलाई एकताबद्ध बनाएर आसन्न स्थानीय तहको चुनावमा परिचालन गर्नु नै पार्टीको अहिलेको मुख्य काम भएको बताए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार