एमसीसी राष्ट्रको समृद्धि र विकासका लागि हो, विदेशी सेना आउँदैन : गृहमन्त्री खाण

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाणले मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) राष्ट्रको समृद्धि र विकासका लागि प्रतिनिधिसभाबाट पास गरिएको बताएका छन् ।नेपाल निजामति कर्मचारी संगठन गृह विभागीय १२ औं अधिवेशनको उद्घाटन गर्दै गृहमन्त्री खाणले एमसीसी नेपालको हितमा रहेको बताएका हुन् । उनले एमसीसी पास भएका कारण कुनै विदेशी सेना नेपालमा नआउने पनि प्रष्ट पारे ।

‘एमसीसी हामीले राष्ट्रको समृद्धि र विकासका लागि प्रतिनिधि सभाबाट पारित गरेका हौँ । एमसीसी पास भएका कारण कुनै विदेशी सेना नेपालमा आउन्न,’ गृहमन्त्री खाणले भने ।

एमसीसीले विद्युतमा विकास, गरिवी निवारण र भौतिक विकासमा सहयोग गर्ने उनको भनाइ थियो । अहिले एमसीसीले दिएको सहयोगको ठूलो हिस्सा विद्युतको ट्रान्समिसन लाइन निर्माणमा र केही सड्क निर्माणमा प्रयोग गरिने गृहमन्त्री खाणले बताए ।उनले विद्युतको तारबाट विद्युत आउने, विदेशी सेना नआउने बताए ।

‘विद्युतको तारबाट विद्युत आउँछ, सेना आउँदैन,’ गृहमन्त्री खाणले भने, ‘राष्ट्रियतालाई सवल बनाउन एमसीसी ल्याइएको हो ।’

उनले नेपालमा उत्पादित विद्युत खपतका लागि आवश्यक ट्रान्समिसन लाइन एमसीसीमार्फत आउने सहयोगबाट निर्माण हुने बताए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार